राजपालाई किन विजयी बनाउने ?

राजपालाई किन विजयी बनाउने ?


■ चन्दा चौधरी

देशमा राजनीतिक उथलपुथलका बाबजुद उपनिर्वाचनको चर्चा कम छैन । विभिन्न राजनीतिक दलहरूले आ–आफ्नो उमेदवारी दिएका छन् । लोकतन्त्रको विभिन्न खुबीहरू मध्ये महाचुनाव र उपचुनावहरू अति नै सुन्दर पक्ष मानिन्छन्, लोकतन्त्रमा । लोकतन्त्रको यही सुन्दरताको बोध गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले पनि विभिन्न स्थानमा विभिन्न पदको लागि उम्मेदवारी दिएको छ ।

उपचुनावले सामान्यतया देशको सत्ता परिवर्तन गराउन खासै भूमिका खेल्दैन । कतिको बुझाईमा उपचुनाव एक किसिमको जनमत सङ्ग्रह हो । तर, पङ्क्तिकारको बुझाईमा यो जनमतको आवधिक मूल्याङ्कन हो । र, उपचुनावको कठघरामा यतिेबला राजपा पनि खडा भएको छ ।

चुनाव एउटा यस्तो कठघरा हो जसमा प्रत्यासीले आफ्नो सफाईसहितको वकालत गर्छ भने जनताले उक्त वकालतको सापेक्षिक ब्याख्या गर्छ अनि न्याय सम्पादन गर्छ । लोकतन्त्रमा चुनाव एउटा यस्तो अदालत हो जहाँ जनता सर्बेसर्वा हुन्छन् ।

राजपाले विभिन्न पदका लागि सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लामा उम्मेदवारी दिएको छ । राजपाको कुरा गरिराख्दा हामीले के बिर्सनु हुन्न भन्ने राजपा एउटा यस्तो पार्टी हो जसको सम्पुर्ण प्रयास र मुर्त उद्देश्य भनेको नेपालमा बसोबास गर्ने सिमान्तकृत समुदायलाई अधिकारसम्पन्न बनाउनु हो । पार्टीको स्थापनाकालदेखि नै राजपा आफ्नो स्तरबाट आम सिमान्तकृत समुदायलाई अधिकार दिलाएर एउटा समुन्नत नेपाल निर्माणको मुद्धालाई उठाउँदै आएको छ ।

गरिमामय मधेश आन्दोलनमा राजपाको आफ्नै किसिमको योगदान रहेको यथार्थ कसैसँग लुकेको छैन । आन्दोलनमा सहादत प्राप्त महान सहिदहरूको सम्मानमा राजपा आफ्नो संवैधानिक लडाइँ लडि नै रहेको छ । शहिद परिवारको सम्मानस्वरुप राजपाले महोत्तरीका शहिद रोहन चौधरीकी आमा बबिता चौधरीलाई प्रदेशसभा सदस्यको रुपमा चयन गरेर शहिद परिवारलाई सम्मान दिएको छ भने शहिद परिवारहरूको घाउमा मल्हम लगाउने प्रयास जारी राखेको छ ।

अहिले प्रदेश २ मा समाजवादी पार्टीसँग मिलेर राजपाले सरकार चलाइरहेको छ । उक्त सरकारले महिला सशक्तिकरण, दलित सशक्तिकरण जस्ता ऐनहरू पारित गरिसकेको अवस्था छ । एकीकृत नेपालमा मधेशमा नदेखिएको विकास राजपा सम्मिलित सरकारले देखाइरहेको छ । यो अनुभूति आमजनतामा रहेकै छ । स्थानीय तहमा राजपाले जितेका स्थानहरूमा आमजनताले विकासका साथै सुशासनको पनि रामै अनुभूति गरिरहेका छन् । राजपाले काम गर्दै जाँदा कुनै गल्ती नै गरेको छैन म भन्दिनँ, तर राजपा सुधारवादी मान्यतामा विश्वास गर्ने भएकोले आगामी दिनमा यस पार्टीबाट भएका भुलचुक या कमी–कमजोरीमा अर्थपूर्ण सुधार ल्याई जनताको विश्वास अझ बढी जित्ने छ भनी हाम्रो विश्वास रहेको छ ।

विदित नै छ कि राजपाले संविधान संशोधन बिना संघीय र सरकारमा सहभागी नहुने उदघोष गरेको थियो र उक्त अडानमा अझ पनि कायम रहेको छ । राजपाले वर्तमान ओली सरकारलाई सशर्त समर्थन गरेको थियो, बाहिरबाट । शर्त थियो जनताको विशाल बहुमतबाट निर्वाचित कैलालीका सांसद रेशम चौधरीको बिनासर्त रिहाई । राजपाले रेशम चौधरीको मुद्दा उठाउँदै गर्दा रेशम चौधरीसंग अन्याय गरेकै दिन राजपाले सरकारलाई दिएको बाहिरी समर्थ फिर्ता लियो । रेशम चौधरीको लागि राजपाले हरसम्भव लडाइँ लडि नै रहेको छ र यो लडाइँ निरन्तर चलि नै रहने हो ।

त्यसैगरी, मधेश थरुहट आन्दोलनता भएको हत्या, हिंसा, आगजनी र तोडफोडबारे नेपाल सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाई सक्दा समेत सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहँदा राजपा नै यस्तो पार्टी हो जसले संघीय संसदमा निरन्तर रुपमा प्रखरताका साथ आवाज उठाइरहेको छ । राजपा नै हो जसले सभामुखलाई बाध्यात्मक अवस्थामा पुऱ्याई त्यसमा रुलिङ गर्न लगायो । उक्त प्रतिवेदन सार्वजनिक नभइन्जेल राजपाले सशक्त रुपमा आवाज उठाइरहने छ र यसलाई आन्दोलनको स्वरुपसमेत दिने निधोमा पुगेको छ ।

अहिले भइरहेको चुनावमा महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष र मठिहानी गाउँपालिकामा राजपाले वडाअध्यक्षमा उम्मेदवारी दिएको छ । पिपरा गाउँपालिका र मठिहानी नगरपालिकामा राजपाको लागि उर्वर स्थलको रुपमा लिन सकिन्छ। किनभने पिपरामा यो भन्दा पहिला राजपाले नै चुनाव जितेको थियो भने मठिहानीमा पनि राजपाले जितेको थियो । मठिहानीमा वर्तमान मेयर राजपाकै हुन् । त्यति मात्र होइन, यी दुवै गाउँपालिका र नगरपालिका महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ, जहाँबाट राजपा अध्यक्ष–मण्डलका सदस्य महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ भने राजपाकै अभिराम शर्मा प्रदेशसभा सदस्यमा निर्वाचित भई समाजिक विकास राज्यमन्त्रीको पदमा विराजमान रहेको छ ।

विकासको दृष्टिकोणले हेर्ने हो भने यी क्षेत्रका जनता राजपाबाट लाभान्वित हुँदै आइरहनु भएको छ । उक्त क्षेत्रका जनताले राजपालाई जिताउने हो भने विकासको दृष्टिकोणले सार्थक समिकरण नर्माण हुने छ । क्षेत्रका आदरणीय जनताले राजपालाई जिताउँदो हो भने विकासको साथै मधेश मुद्धा सम्बोधन गराउन बाँकी रहेको आन्दोलनमा समेत थप उर्जा प्राप्त हुने सुनिश्चितताको आयतन फराकिलो छ ।

पिपरा गाउँपालिकामा अध्यक्षको उमेदवारमा राजपाले महिला उमेदवार खडा गरेको छ । विदितै छ विभिन्न दलले महिलालाई उपाध्यक्ष–उपमेयर अर्थात ‘उपपदमा चुप’ भएर बस्नको निमित्त खडा गर्ने गरेका छन् । पिपरामा राजपाले खडा गरेको महिला उम्मेदवारलाई विजय बनाउने हो भने यसले महिलालाई राजनीतिमा आउन प्रेरित गर्ने निश्चित छ । महिलाले मौका पायो भने पुरुषको तुलनामा कम सक्षम छैनन् भन्ने तथ्य बलियो गरी स्थापित भएको छ ।

अन्तमा, राजपाका सम्पूर्ण कार्यकर्ता एक ढिक्का भई यो उपचुनावमा खटिनुपर्छ । मधेसवादको आवश्यकता अझ जीवित नै छ भन्ने ध्येयलाई स्थापित गराउने बेला पनि यही हो । तसर्थ, मधेशवाद र समस्त उत्पीडीत एवं सीमान्तकृत समुदायको अधिकारलाई स्थापित गराउन एवं विकाससहित संविधान संशोधनको ‘लडाइँ’लाई निरन्तरता दिनको निमित्त राजपालाई विजयी बनाउनुको विकल्प छैन ।

(लेखक प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय जनता पार्टी नेपालका  महासचिव हुनुहुन्छ ।)