छुट्टाछुट्टै दुर्घटनामा एक विदेशीसहित चारको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा एक विदेशीसहित चारको मृत्यु


कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ ।

नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना.३ख १४२४ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।

मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त घाइते भएका दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइए पनि उपचारका क्रममा दुवैको मृत्यु भएको हो । मृतक दुवैको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

यसैगरी, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबोसीस्थित बीपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.९८प ७५८२ नम्बरको स्कुटर खाल्टो छलाउने क्रममा आफैँ अनियन्त्रित भई शनिबार दुर्घटना हँुदा स्कुटरमा सवार दुवै घाइते भएको र धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं पठाएकोमा उपचारका क्रममा आज बिहान ३ः०० बजेतिर मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटरको पछाडि सवार कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–६ घर भई पुरानो बानेश्वर काठमाडौं कोठा गरी बस्ने वर्ष १९ की अनुपमाकुमारी राउत रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका स्कुटरचालक रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल मध्यबानेश्वर काठमाडौं कोठा गरी बस्ने अन्दाजी वर्ष २२ को गोपाल बोहराको दाहिने हातको औँला र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उता, खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ । डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्यान्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

उनीसहित ११ जनाको समूहमा आरोही पुटलोज इन द हिमालयन प्रालिमार्फत खुम्बु आएका थिए ।
rss