हात्तीको आक्रमणबाट चितवनमा बाबुछोराको मृत्यु

हात्तीको आक्रमणबाट चितवनमा बाबुछोराको मृत्यु


चितवनको माडी ठोरी हुलाकी सडकमा आज (३० कात्तिक) बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्टनजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो ।

मृत्यु हुनेमा माडी नगरपालिका वडा नं १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन् । दुवै जना लु३१प २९११ नंको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको बताइएको छ ।

हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए। घटना बिहान ७ः३० बजेको समयमा भएको हो ।

उता बाजुरामा भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटाका ३३ वर्षीय दीर्घबहादुर थापा रहेका छन् ।

आज बिहान गाउँमाथिको खोया लेकमा पशुचौपायाका लागि घाँस काट्न गएको समयमा भालुले आक्रमण गरी थापालाई गम्भीर घाइते बनाएको हो । घाइते थापा आक्रमणलगत्तै कराएपछि नजिकै रहेका स्थानीय गोठालाले जानकारी पाए र भालुलाई भगाएर थापालाई बचाउन सकिएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परी गम्भीर घाइते भएका थापालाई उपचारका लागि छिमेकी जिल्ला अछामस्थित बयालपाटा अस्पताल लगिएको छ । थापाको टाउको, मुख तथा हातमा गम्भीर चोट लागेको बताइएको छ । जिल्लाका विभिन्न ठाउँमा भालुले मन पराउने कोदो, मेल, डिम्भरजस्ता फलफूल पाक्ने समय भएकाले यो समयमा हिँड्दा होस् गरेर हिँड्नसमेत जिल्ला डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।