बेलायती महारानीद्वारा जंगलाई धन्यवाद

बेलायती महारानीद्वारा जंगलाई धन्यवाद


... जुन २७ एउटा दुर्भाग्यपूर्ण दिन रह्यो– एकजना पेट नामक सन्काहा व्यक्तिले महारानी भिक्टोरियामाथि आक्रमण गऱ्यो । महारानी क्याम्ब्रिज हाउसबाट फर्कंदै थिइन् । उनी आफ्नो बिरामी काका ड्युक–अफ–क्याम्ब्रिजको स्वास्थ्यबारे सोधपुछ गर्न गएकी थिइन् । पेट जागिर खोसिएको एउटा लप्टन थियो । त्यसकारण सरकारविरुद्ध उसको गोप्य रिस थियो । ऊ रानीलाई लाठीले हिर्काएर आफैँले त्यसको बदला लिन चाहन्थ्यो । तर, भाग्यवश उनको प्रहारले रानीको निधारमा सानो चोट मात्र लाग्यो– उनलाई शिरको झापनले बचायो ।

यो दुःखद घटनाको खबर सुन्नासाथ जंगबहादुर हतारहतार आफ्नो सहानुभूति प्रकट गर्न दरबारतिर हान्निए र त्यस दुष्ट अपराधीलाई फाँसीको सजाय दिनुपर्ने माग राख्नुका साथै मानसिक विक्षिप्तताको निवेदन पेस गर्दैमा महारानीको गाथमा पुऱ्याएको राजविद्रोह अपराध क्षम्य हुन नसक्ने तर्क अघि सारे । यो सहानुभूतिका लागि महारानीले जंगबहादुरलाई धन्यवाद दिइन् र चोट सामान्य भएको भनेर उनलाई आश्वस्त तुल्याइन् । पेटलाई ७ वर्ष निर्वासनको दण्ड दिइयो ।

जुन २८ मा जंगबहादुर वुलविचका लागि प्रस्थान गरे । त्यहाँ उनलाई आङ्लेसियाका मार्किस राजकुमार अल्बर्ट, क्याम्ब्रिजका राजकुमार जर्ज र रसियाका ग्रान्ड ड्युकद्वारा ससम्मान स्वागत गरियो । उनलाई तोप समूहका ६ टुकडीका साथ दुई हजार सैनिकको कवाज निरीक्षण गराइयो । त्यसपछि उनले गठ्ठाघरको निरीक्षण गरे । उनले आघात शिर निर्माण गर्ने र भर्ने प्रक्रिया, फलामका पिण्डलाई पाताको रूपमा ढाल्ने प्रक्रिया र अग्निचापद्वारा गोलीगठ्ठा उत्पादन गर्ने प्रक्रिया पनि अत्यन्त चाख मानेर हेरे ।

जुन ३० मा जंगबहादुरले एस्ली हाउसमा अवस्थित सरकारी निवासमा ड्युक–अफ– वेलिङ्टनसँग भेट गरे । ड्युकले नेपाल र ब्रिटिस संविधानका विषयमा जंगबहादुरसँग लामो कुराकानी गरे । ड्युकले त्यसपछि जंगबहादुरलाई एउटा कोठामा लगे र त्यहाँ रहेको नेपोलियनको एउटा प्रतिमूर्ति गर्वका साथ देखाए । नेपोलियनलाई उनले वाटरलुको युद्धमा पराजित गरेका थिए । मध्याह्नपछि जंगबहादुर हलेन्ड पार्क हेर्न गए । त्यहाँ महारानीसँग उनको अर्को अन्तर्वार्ता भयो । महारानीले उनी र उनका भाइहरूलाई त्यो रात दरबारमा आयोजना गरिएको नाचगान हेर्न निमन्त्रणा गरिन् । जंगबहादुरको दल उक्त कार्यक्रममा उपस्थित भयो ।

जुलाई २ का दिन बिहान जंगबहादुरले केही कोत्स्वोल्ड र लेसेस्टर जातका भेडा र तीन जोडा विशुद्ध ब्लडहाउ प्रजातिका तीन जोडी कुकुर हाउन्ड किने । अर्को दिन बिहानदेखि आगन्तुकलाई भेट्ने क्रम थियो । त्यसको दुई दिनपछि उनी केही सरसामान खरिद गर्नमा व्यस्त भए– खास गरेर तेल पेल्न मेसिन । जुलाई ६ मा उनी लर्ड अल्फ्रेड पाजेटसँग टेम्समा हुने डुङ्गा दौड हेर्ने गए । त्यसपछि तीन दिन जति आफ्ना भाइ जगतशमशेरको हेरचाहमा लाग्नुपर्ने हुँदा उनलाई फुर्सद भएन । जगतशमशेर राति ओपेरा हाउसबाट फर्कंदा घोडाबाट लडेर बिरामी परेका थिए । जुलाई ९ को बिहान जंगबहादुरले महारानी र राजकुमारलाई हिज रोयल हाइनेस ड्युक अफ् क्याम्ब्रिजको असामयिक निधन भएकोमा दुःख प्रकट गर्दै शोक सन्देश पठाए ।

जुलाई १० का दिन जंगबहादुर दोस्रोपटक वुलविच गए । उनलाई लन्डनमा अरू सबै थोकले भन्दा वुलविचले अत्यधिक आकर्षण गरेको थियो । उनले त्यहाँ सङ्ग्रहालय र गट्ठाघर निरीक्षण गरे । त्यसको भोलिपल्ट उनी सेन्ट पाउलको क्याथेड्रल र टावर हेर्न गए । पछिल्ला १० दिन अन्य महत्वपूर्ण स्थानका निरीक्षण भ्रमण गरे र जुलाई २३ मा तेस्रोपटक फेरि वुलविच भ्रमणमा गए, मानौँ उनले बेलायतको यति लामो यात्रा वुलविचकै लागि मात्र गरेका थिए । बेलायतको सैनिक गौरव बोकेका त्यहाँका स्थानहरूको अध्ययन गर्ने उनको मुख्य उद्देश्य थियो ।

जुलाई २४ का दिन जंगबहादुर पी. एन्ड ओ. कम्पनीले उनको सम्मानमा दिएको बालनृत्य कार्यक्रममा उपस्थित भए । म यहाँ आइरिस शैलीमा रचिएको र थाकरेद्वारा गाइएको एउटा सवाई दुई चरण प्रस्तुत गर्न चाहन्छु–

‘तिमीलाई एउटा खबर सुन्ने इच्छा छ म सुनाउँदिनँ त्यो कुनै भूतलाई
म बालनृत्यका सबै खबर सुनाउन चाहन्छु नेपालका राजदूतलाई ।’

त्यसपछिका उनका दुई दिन लन्डनका महिला तथा पुरुष साथीसँग रसरङ गर्दै बिते । उनलाई सबैले मुग्ध कण्ठले प्रशंसा गरे ।

(सरदार भीमबहादुर पाँडे, त्यसबखतको नेपाल)