पुर्पक्षका लागि आलम जेल चलान

पुर्पक्षका लागि आलम जेल चलान


०६४ को चैतमा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोटमा घाइते बनेकालाई जिउँदै इँटाभट्टामा हालेर मारेको अभियोग लागेका पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यसअघि आठ दिन लामो थुनछेक बहस चलेको थियो ।

अब अदालतले सरकारी साक्षी र आलमका साक्षीहरूको बयान लिनेछ । त्यसपछि मात्रै आलमको मुद्दामा अदालतले फैसला गर्नेछ ।

आलमलाई घटनाको १२ वर्षपछि रौतहट प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले आलमसहित ११ जनालाई प्रतिवादी बनाउन रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । हत्या प्रकरणमा १० जना अझै फरार छन् ।

आलम निर्दोष छन् भन्दै उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शेरबहादुरकेसीसहित ३३ जना रौतहट पुगेका थिए । उनीहरूले आलमविरुद्ध राज्य, मिडिया र सामाजिक सञ्जाल नियोजित रूपमा लागेको भन्दै अदालतमै आक्रोश पोखेका थिए ।