लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक ‘च्याण्टिङ्ग’ आरम्भ

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक ‘च्याण्टिङ्ग’ आरम्भ


■ नारद कोहार, लुम्बिनी

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक ‘च्याण्टिङ्ग’ (वाचन) शुरु भएको छ।

लुम्बिनीको आध्यत्मिक एवम् पर्यटकीय विकासमा टेवा पुऱ्याउन तीनदिने बौद्ध ग्रन्थ त्रिपिटक वाचन गरिएको हो । यसको लागि २५ देशका एक हजार भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनीमा भेला भएका छन् ।

त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम् आयोजक भिक्षु मैत्रीले बताए। अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरी त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोस्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो।

यसपटक लुम्बिनीमा तीनवटै पिटकसँगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिने काम) गर्दा सुनाउनुभएको वसन्त जातक सुत्र र शाक्य र कोलिय राज्यबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तिका लागि देशना गरेका महासमय सुत्र पनि पाठ गरिने छ। लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यसले लुम्बिनीको गरिमा र महत्वलाई बढाएको बताए।

सम्राट अशोकले लुम्बिनीसँगै कपिलवस्तुको दुई स्थानमा अशोक स्तम्भ राखेको ठाँउ पहिचान भएको उनको भनाई थियो। कनकमुनि बुद्धको जन्मस्थल निगालिकोटमा प्रदेश सरकारले कनकमुनि बुद्धको प्रतिमा राख्ने योजना बनाएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए । नवलपरासीको रामग्रामबारे अध्ययन प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले प्रदेश सरकारका तर्फबाट त्यहाँ बुद्धकालीन सम्पदाहरुको अध्ययन गर्ने संग्रहालय निर्माण गरिने योजना पनि सुनाए।