अमेरिका पुग्ने आशमा ६ नेपाली युवा अफ्रिकामा बन्धक

अमेरिका पुग्ने आशमा ६ नेपाली युवा अफ्रिकामा बन्धक


अमेरिका लैजाने भनी अफ्रिकामा लगेर नेपाली युवालाई बन्धक बनाउने भारतीय नागरिकलाई नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका ६ जना युवालाई अमेरिका लैजान्छु भनेर अफ्रिकाको मलावीमा लगेर बन्धक बनाउने कार्यमा संलग्न भारतीय नागरिक नाजिर अहमदलाई पक्राउ गरी मंगलबार (२६ कात्तिक) सार्वजनिक गरेको हो ।

विगत एक वर्षदेखि अमेरिका लैजाने भनी भियतनाम, इथियोपिया, मडागास्कार, जोर्डन, दुबई, अजरबैजान हुँदै अफ्रिकाको मलावी पुऱ्याएर ती युवालाई भारतीय दलालले बन्धक बनाएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । उनका अनुसार ब्यूरोको टोली र मलावीको सीआईडी पुलिसको समन्वयमा मलावीको गाउँबाट उद्धार गरी पीडितलाई स्वदेश फर्काउन सफल भएको हो ।

उद्धार गरिएका मध्ये पर्वतका चार युवालाई स्वदेश ल्याइसकिएको र बाँकी दुईलाई ल्याउने क्रममा रहेको ब्यूरोले जनाएको छ । मानव तस्कर गिरोहले अजरबैजान लाने क्रममा नेपालबाट भियतनाम लगेर २० दिन राखेको, इथियोपियामा चार महिना, मडागास्कारमा २५ दिन, जोर्डनमा एक महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको अनुसन्धानमा खुलेको छ ।

मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहको मलावी प्रहरी तथा मानव बेचविखन अनुसन्धान ब्यूरोबाट अनुसन्धान भइरहेको ब्यूरोको भनाई छ । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही हुने प्रहरीको भनाई छ ।