बुलबुल आँधीबाट भारत १२ र बंगलादेशमा ८ को मृत्यु

बुलबुल आँधीबाट भारत १२ र बंगलादेशमा ८ को मृत्यु


बंगलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने मानिसको संख्या २० पुगेको बंगलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाखभन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ ।

करिब १ सय २० किलोमिटर प्रतिघन्टाको गतिमा शनिबार ८ः३० बजे भारतको पश्चिम बंगालबाट बंगलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुवै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य पारेको बताइएको छ ।

बुलबुलबाट भारतको पश्चिम बंगाल राज्यमा दशजनाको र अन्य दुईजनाको ओडिसा राज्यनजिकै मृत्यु भएको छ । बंगलादेशमा कम्तीमा आठजनाको मृत्यु हुनुका साथै अन्य २० घाइते भएका छन् ।

बंगलादेशको दक्षिणी टापु भोलानजिकै रहेको मेघना नदीमा माछा मार्न गएका पाँचजना माझी हराइरहेका जिल्ला प्रशासक मसुद आलम सिद्दिकीले बताए ।

बुलबुलबाट प्रायः माटो र जस्तापाताले बनाएका करिब चार हजार घरमा क्षति पुगेको प्रकोप व्यवस्थापन सचिव शाह कमलले बताए ।

बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डा. अबुल कलाम मलिकले बुलबुल आँधीले आइतबार नै बंगलादेशको दक्षिणपश्चिमी तटीय क्षेत्र पार गरिसकेको जानकारी दिए ।
रासस–एएफपी