सीमा नक्शामा कुनै परिवर्तन नगरिएको भारतको भनाई

'निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश भैरहेको दाबी'



भारतले हालै जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्शामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरिएको दाबी गरेको छ ।

जम्मु र काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याएपछि जारी गरिएको नक्शालाई लिएर नेपालको तर्फबाट चर्को विरोध भएपछि भारतीय पक्षले नेपालसँगको सीमानामा कुनै फेरबदल नभएको दाबी गरेको हो ।

कालापानीलगायतका क्षेत्र भारतले आफ्नो क्षेत्रमा परेको भन्ने समाचारको भारतको विदेश मन्त्रालयले बिहीबार खण्डन गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाना निर्धारणका लागि छुट्टै संयन्त्र र व्यवस्था रहेकाले त्यही अनुसार हुने स्पष्ट पारेका एएनआईले जनाएको छ ।

उनले कुनै विवाद वा समस्या रहेमा दुवै देशका बीचमा वार्ता र छलफल गरेर समाधान निकालिने र एक अर्कामा स्पष्ट हुने जानकारी पनि दिए । दुवै देशको सरोकारका विषयमा दुईपक्षीय हित र मित्रताकै आधारमा टुङ्गोमा पुगिने प्रवक्ता कुमारले सञ्चारकर्मीहरुलाई बताए ।

“नेपालसँगको सिमानामा पूरानै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन,’ प्रवक्ता कुमारको भनाई छ । उनले आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न तयार रहेको प्रतिबद्धता दोहोर्याए ।

प्रवक्ता कुमारले निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश भैरहेको र यसको विरूद्ध दुवै देशले संयुक्त रूपमा अघिबढ्नुपर्ने जरुरी रहेको दाबी पनि गरे ।

प्रतिक्रिया