लोपोन्मुख कलाकृतिको जगेर्ना गर्न मङ्सिरमा हस्तकला मेला

लोपोन्मुख कलाकृतिको जगेर्ना गर्न मङ्सिरमा हस्तकला मेला


लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलाको संरक्षण र नयाँ पुस्तालाई यो पेशाप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल हस्तकला महासङ्घले आउँदो मङ्सिर १२ देखि १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मङ्सिर १६ गतेसम्म भृकुटीमण्डपमा चल्ने उक्त मेलामा २०० कक्ष तथा आठ प्याभिलियन कक्ष रहने र भारत, श्रीलङ्का, बङ्गलादेशसहित विभिन्न मुलुकका व्यापारीको कक्ष रहने महासङ्घले जनाएको छ ।

नेपालमा हाल हस्तकला वस्तुको आन्तरिक बजार करीब रु १० अर्ब बरावरको छ । नेपालले तेस्रो मुलुकहरुमा वार्षिक रु १० अर्बभन्दा बढी हस्तकलाको निर्यात गर्दै आएको छ । नेपालको विभिन्न भौगोलिक क्षेत्रको वेशभूषा, खानाको परिकार, जातीय पहिचान र संस्कृति झल्किने कार्यक्रमका साथै नेपाल भाषाको दुर्लभ चर्या नृत्य, प्राचीन तथा आधुनिक सङ्गीत प्रस्तुत हुने मेला संयोजक धर्मराज शाक्यले जानकारी दिए ।

महासङ्घले विसं २०४८ देखि शुरु गरेको हस्तकला मेलाको प्रमुख उद्देश्य विश्वबजारमा नेपालको निर्यात बजार वृद्धि गर्नु रहेको, हस्तकलाको विकास गर्न सके देशमा धेरै रोजगारीको सिर्जना गर्न सकिने र त्यसका लागि सरकाले विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यको भनाई छ ।