काङ्ग्रेसमा उम्मेदवार चयनको अधिकार पदाधिकारीलाई

काङ्ग्रेसमा उम्मेदवार चयनको अधिकार पदाधिकारीलाई


नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पार्टीको विधानअनुसार पार्टीका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार (१५ कात्तिक) बसेको बैठकले उपनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न र पार्टीको विधानअनुसार कार्य सम्पादन गर्न पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो ।

काङ्ग्रेसको विधानअनुसार हाल संसदीय समिति गठन नभएकाले संसदीय समितिले गर्ने कामको अधिकार पदाधिकारीलाई प्रत्यायोजन गरिएको हो । बैठकले पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत पदाधिकारी बैठकमा सामेल गराई निर्णय गराउने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो ।

यसैगरी उपनिर्वाचन अन्तर्गत सुनसरीको उप–महानगरपालिकाको प्रमुख पदका लागि काङ्ग्रेस सुनसरी जिल्ला कार्यसमितिबाट सर्वसम्मत् रूपमा तिलक राईको नाम सिफारिस भई आएकाले उक्त नामलाई अनुमोदन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यही कात्तिक १७ गते अपरान्ह ३ः०० बजे बस्ने पार्टीको केन्द्रीय समिति बैठकले उपनिर्वाचनका लागि पार्टीका सबै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने उहाँले बताउनुभयो ।

पार्टी सभापति देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री डा शशाङ्क कोइरालाले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, एनपी साउद र महेन्द्र यादवले आ–आफ्नो धारणा राख्नुभएको थियो । यसैगरी बैठकले तराई–मधेशलगायत देशभरी नै विशेष उत्साहसाथ मनाइने छठपर्वको हार्दिकता, प्रेम र विश्वास अभिवृद्धिको कामनासाथ समस्त नेपाली दिदीबहिनी दाजुभाइमा शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।

pict:rss