आगामी महाधिवेशनमा कोइराला सबै एकजुट हुन्छौँ : शेखर कोइराला

आगामी महाधिवेशनमा कोइराला सबै एकजुट हुन्छौँ : शेखर कोइराला


■ सदीक्षा गैरे, नवलपुर

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सबै कोइराला एकजुट भएर पार्टी अघि बढाउन लागिपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारबाट हुनुपर्ने आवाज उठिरहेको जिकीर गर्दै केन्द्रीय सदस्य समेत रहेका कोइरालाले पार्टीलाई जोगाउन पनि कांग्रेसको विरासद बोकेका कोइरालाहरु एक हुनुपर्ने धारणा अघि सार्नुभएको हो ।

प्रेस युनियन नवलपुरले सदरमुकाम कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शालिन एवम् बौद्धिक नेता शेखरले भन्नुभयो, ‘अहिले कोइराला परिवारबाट तीनजना राजनीतिमा छौँ, हामी तीनैजना बीच महाधिवेशनमा एकजुट भएर जाने कुरा भएको छ ।’

काग्रेस कोइरालाहरुको मात्र पार्टी नभएको प्रष्ट्याउँदै उहाँले सबैको भावनालाई बुझेर आफुहरु अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो । घुमाउरो शैलीमा नेता कोइरालाले आगामी महाविेशनमा आफू सभापतिको दाबेदार भएको संकेत पनि गर्नुभयो ।

कोइरालाले वर्तमान सरकार अधिनायकवाद र सर्वसत्तावादतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै सरकारले प्रेस स्वतन्त्रताको हनन गरेर लोकतन्त्रमाथि प्रहार गरेको बताउनुभयो । अहिले कांग्रेस प्रतिपक्षमा रहे पनि प्रतिपक्षको भूमिकामा केही गर्न नसकेको शेखरको स्वीकारोक्ति थियो ।

प्रेस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिकांश समय आफ्नै पार्टी नेतृत्वको कमजोरीका बारेमा बोल्न बाध्य हुनुभएका नेता कोइरालाले बिहीबार नै हुप्सेकोट गाउँपालिकामा रहेको कांग्रेस पुस्ताकालयको उदघाटनसमेत गर्नुभयो । सो क्रममा उहाँले गाउँगाउँमा खुलेका यस्ता पुस्तकालयले कांग्रेस र समाजवादका विषयमा अध्ययन गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।