भारतसँगको ब्यापार बढाउन चीनसँगका नाका खुल्नुपर्छ : झलनाथ खनाल

भारतसँगको ब्यापार बढाउन चीनसँगका नाका खुल्नुपर्छ : झलनाथ खनाल


■ नारद कोहार, कपिलवस्तु

संशोधनको औचित्य पुष्टि भए संविधान संशोधन गर्न सकिने नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमंत्री झलनाथ खनालले बताएका छन् । दिपावलीको अवसर पारेर नेकपा कपिलवस्तुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले संसारको उत्कृष्टमध्येको यो संविधानले सबै धर्म, वर्ग, समुदाय तथा जातजातको भावनालाई समेटेको दाबी गर्नुभयो ।

संविधान संशोधनका नाममा प्रतिगमनकारीहरु सक्रिय भएको भन्दै संविधानमा संशोधन गर्नुपर्ने बुँदामाथि व्यापक छलफल गरी आवश्यकता परे संशोधन गर्न सकिने उहाँको तर्क थियो ।

सो अवसरमा नेता खनालले नेपालले दुई ठूला छिमेकीहरु भारत र चीनसँग समान राजनैतिक सम्बन्ध स्थापित गरी आर्थिक फाइदा लिनेतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । चीनसँगका नाकाहरु खोलेर चीन र भारतसँगको व्यापारलाई थप बढाउनुपर्ने नेता खनालको धारणा थियो ।

चीनबाट पोखरा हुदै लुम्बिनीसम्म रेलमार्ग विस्तार गरी चिनियाँ बजारलाई नेपालसँग जोड्ने परिकल्पनालाई यो सरकारले पूरा गर्ने उहाँहले बताउनुभयो ।

सो अवसरमा कृषिमन्त्री चक्रपाणी खनालले कृषकहरुलाई पर्याप्त रुपमा मलखाद पुर्याउन सरकारले मलखादका लागि छुट्याएको रकम निकै कम भएको गुनासो गर्नुभयो । मन्त्री खनालले सरकारले किसान पेन्सन योजना ल्याएको जिकीर गर्दै यसै वर्षदेखि पेन्सन योजनाको काम शुरु हुने दाबी गर्नुभयो ।

कार्यक्रममा सांसद बृजेश कुमार गुप्ता, प्रदेशसभा सदस्यहरु अर्जुन केसी, दीर्घनारायण पाण्डेय लगायत नेकपाका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज गिरीधारलाल न्यौपाने, पूर्व लेखासमिति सभापति डोरप्रसाद उपाध्याय, केन्द्रिय सदस्य विमला घिमिरे, जिल्ला नेताहरु बाबुराम खनाल, डम्मर शर्मा, विष्णु वेलवासे, आजाद अहमद दर्जी, सत्यनारायण त्रिपाठी, हिरालाल पौडेल, विजयप्रकाश जयसवाल, दीपक पाण्डेय (राजा भैया) लगयातका नेताहरुको उपस्थिति रहेको थियो । जिल्लासचिव रामचन्द्र शाहको सञ्चालन र झविलाल पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।