भारतीय नागरिकता रहेको आरोपको देवेन्द्रद्वारा खण्डन

भारतीय नागरिकता रहेको आरोपको देवेन्द्रद्वारा खण्डन


नेपाली काङ्ग्रेसका नेता एवं पूर्वसङ्घीय सांसद देवेन्द्रराज कँडेलले आफूसँग भारतीय नागरिकता रहेको भन्ने समाचारको खण्डन गरेका छन् ।

काङ्ग्रेस केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेता कँडेलले आफ्नो नाममा हालसम्म भारतको नागरिकता नभएको र भारतको कहीँकतै स्थानीय वा आम निर्वाचनमा मतदाता सूचीमा नाम नरहेकोसमेत प्रष्ट्याएका छन् ।

आफ्नो बाल्यकालदेखिको शिक्षा भारतमा भएको र सोही शैक्षिक प्रमाणपत्रको आधारमा उहिल्यै नै सवारी चालक अनुमतिपत्र लिएको र उक्त अनुमतिपत्र चाहिँ अहिले पनि आफूसँग रहेको उनले स्वीकार गरे ।

काङ्ग्रेस नेता कँडेलले भने, ‘मेरो हजुरआमा स्व. राधादेवी राणाशासनविरुद्धमा प्रजातन्त्रका लागि लड्दै आउनुभएको र तत्लकालीन समयमा नेपालमा अध्ययन÷अध्यापन सम्भव नभएपछि नेपालको सिमानाबाट २०० मिटर टाढा भारतको सिमानामा २००६ सालमा आफ्नो नाममा विद्यालय स्थापना गर्नुभएको हो । उक्त विद्यालयमा स्थापनाकालदेखि नै हाम्रो परिवारबाट व्यवस्थापन समितिको अध्यक्ष निरन्तर रहँदै आएको छ । पारिवारिक संरक्षकको हैसियतमा मेरो हजुरआमा, त्यसपछि मेरो बुबा र हाल म अध्यक्षका रुपमा निरन्तरताको स्वरुप रहँदै आएको छु ।’