बोनम्यारो पीडितलाई ओमानबाट आर्थिक सहयोग

बोनम्यारो पीडितलाई ओमानबाट आर्थिक सहयोग


■ आरके श्रीवास्तव, ओमान

नेपाल मगर संघ ओमानले एक बोनम्यारो समस्याबाट पीडितलाई आर्थिक सहयोग गरेको छ। स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ३ निवासी कुमारी रानाकी सत्र वर्षिया छोरी विमला रानालाई आर्थिक सहयोग पठाइएको हो ।

नेपाल मगर संघ क्षेत्रीय समिति सललाह, पोर्ट अफ सललाह र संघका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले संयुक्त रूपमा पैसा संकलन गरी रकम पठाएको छ । संघको तर्फबाट महासचिव कुसुम झेदी मगरले सहयोग रकम हस्तान्तरण गर्नुभयोे ।

ओमानबाट एक लाख पैँतीस हजार पाँच सय पच्चीस रूपैयाँ सहयोग रकम नेपाल पठाइएको संघका उपाध्यक्ष यमु थापा मगरले जानकारी दिनुभयो । बिरामी रानाको भित्री हड्डीको बोनम्यारो सुकेर शरिरमा रगत सिर्जना नहुने भएकोले त्यसको प्रत्यारोपण एवम् उपचारको लागि १८ लाख खर्च आवश्यक भएकोले संघबाट सक्दो सहयोग गरिएको बताइएको छ ।

बिरामीको आर्थिक अवस्था कमजोर भएको र त्यति ठूलो रकम पूरा गर्न नसक्ने अवस्था रहेकोले सहयोगका लागि अपिल गरिएको थियो । त्यसअनुसार संघको सक्रियतामा सम्पूर्ण सदस्यसँग सहयोग रकम संकलन गरी नेपाल पठाइएको हो ।