सिके राउतका चार कार्यकर्तालाई सफाई

सिके राउतका चार कार्यकर्तालाई सफाई


■ हेमशंकर सिंह, राजविराज

डा. सीके राउतले नेतृत्व गरेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई जिल्ला अदालत सप्तरीले सफाई दिएको छ ।

राजविराज नगरपालिका-११ फर्सेठ बस्ने वर्ष २३ का श्याम कुमार यादव, वर्ष १९ का सरोज कुमार यादव, सप्तकोशी नगरपालिका-१० फत्तेपुर बस्ने वर्ष १९ का अबिनास पण्डित र तिलाठी कोइलाडी गाउँपालिका-२ बस्ने वर्ष २८ का सुशील मण्डलले सफाई पाएका हुन् ।

बलिदान दिवस मनाउने भन्दै जिल्लाको विभिन्न स्थानीय तहहरुमा कार्यक्रम गर्न लागेको बेला जिल्लामा गठबन्धनमा सक्रिय रहेका उनहिरुलाई राजविराज-११ झलही पुलबाट गत वर्षको माघ ५ गते प्रहरीले पक्राउ गरी बालबालिकाविरुद्ध र राज्यविरुद्धको कसुर मुद्दा चलाएको थियो ।

राजविराज-११ झलही पुल आसपासमा पोस्टर टाँस्दै गरेको अवस्थामा पोस्टर र फ्रि मधेश लेखिएको व्यानरसहित विद्यालय उमेरका स-साना बालबालिकाहरु समेतलाई उक्साई, प्रलोभनमा पारी कार्यक्रममा सहभागी गराउने कार्यमा संलग्न रहेको अबस्थामा उनीहरुलाई प्रक्राउ गरिएको सप्तरीका तत्कालीन प्रहरी प्रमुख राजेन्द्र बिष्टले दाबी गरेका थिए ।

सिके राउतको कार्यकर्ताभई उनको समर्थनमा मधेशीको जागरणको लागि कार्यक्रम गरेको भन्दै अदालतले हिजो मंगलबार उनीहरुलाई सफाई दिएको हो । जिल्ला अदालतका न्यायधीश जवाहरप्रसाद सिंहको इजलासले प्रहरीले दावी गरे अनुसार नेपालबाट खण्डित भई छुट्टै स्वतन्त्र राज्य बनाउन लागेको नभई मधेश मधेशीको जागरणको लागि कार्यक्रम गरेको भन्दै सफाई दिएको हो ।

कार्यक्रममा बालबालिकाको प्रयोग गरिए पनि नेपालबाट छुट्टै अलग मधेश राज्य बनाउन सक्ने हैसियतको क्रियाकलाप उनीहरुबाट नभएको भन्दै अदालतले प्रहरीको अभियोग दावी अनुसार कसुर नदेखिएकोले सफाई पाउने ठहर गरेको छ ।

गत वर्षको माघ ५ गते पक्राउ परेका उनीहरुउपर प्रहरीले सोही वर्षको माघ २९ गते मुद्दा दर्ता गरेको थियो । सोही वर्षको फागुन २ गते जनही ५० हजार धरौटीमा रिहा गर्ने आदेश भए पनि रकम जम्मा गर्न नसक्दा तत्काल उनीहरु रिहा हुन सकेका थिएनन् ।

धरौटीमा छुटने आदेश भएको १० दिनपछि फागुन १२ उनीहरु जग्गा धरौटी राखी रिहा भएका थिए ।