राष्ट्रपतिहरूको राजकीय ‘चेयर्स’



■ बबिता बस्नेत

चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा उहाँको सम्मानमा हाम्रा राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीबाट दिइएको राजकीय रात्रिभोज (स्टेट बेंक्वेट) मा गरिएको ‘चेयर्स’को खुब चर्चा भयो । रात्रिभोजमा दुवै देशका राष्ट्रप्रमुखहरूको मन्तव्यपछिको टोस्ट प्रस्तावका क्रममा चेयर्स गर्दा राष्ट्रपति सीले सम्मान दर्शाउँदै ग्लास अलि तल ठोक्काएको तर हाम्रा राष्ट्रपतिबाट त्यसको ‘रेस्पोन्स’ नगरिएको भन्ने पनि सुनियो, पढियो ।

रोचक पक्ष त के छ भने हामी हरेक कुरामा आलोचना गर्न पोख्त छौँ । राष्ट्रपति भ्रमणका अन्य खोटहरू नभेटिएपछि ‘चेयर्स’कै सही, आलोचना गऱ्यौं । जुन आलोचनाले कूटनीतिक चालचलनप्रति सजग बनाउन मद्दत गर्ने देखिएको छ । राम्रो नियतले गरिने आलोचनाको परिणाम प्रायः राम्रै हुन्छ । आलोचना (क्रिटिकल हुनु) र नकारात्मक (नेगेटिभ) हुनु फरक कुरा हो ।

उच्चस्तरीय ‘चेयर्स’को चर्चा हुँदा यो पङ्क्तिकारलाई लागेको कुराचाहिँ के हो भने हाम्रो समाज अचम्मको छ, राष्ट्रपतिको चेयर्स मिलेन भनी आलोचना गर्छ, अन्य महिलाहरूले ‘चेयर्स’ गरे भने नकारात्मक धारणा बनाउँछ । हामीकहाँ महिला र पुरुषलाई हेर्ने मापदण्डहरू फरक छन् । पितसत्ताले महिला र पुरुषलाई दुई भागमा विभाजित गरिदिएको छ, राम्री महिला र खराब महिला । यो मापदण्डमा मदिरा पिउने, चेयर्स गर्ने महिला खराबको परिभाषाभित्र पर्छन् । ‘खराब’को अर्थ सीधै चरित्रसँग गएर जोडिन्छ, यो गतिली होला र ? यद्यपि मदिरा, चुरोटजस्ता कुराहरूको सेवन जसले गरे पनि राम्रो होइन । मादक या सुर्तीजन्य पदार्थको सम्बन्ध स्वास्थ्यसँग छ, चरित्रसँग होइन ।

उच्चस्तरीय ‘चेयर्स’को चर्चा हुँदा यो पङ्क्तिकारलाई लागेको कुराचाहिँ के हो भने हाम्रो समाज अचम्मको छ, राष्ट्रपतिको चेयर्स मिलेन भनी आलोचना गर्छ, अन्य महिलाहरूले ‘चेयर्स’ गरे भने नकारात्मक धारणा बनाउँछ ।

नेपाली समाजमा खुलेर चेयर्स गर्ने महिला कमै देखिन्छन्, भेटिन्छन् । समयक्रममा यस्तो सङ्ख्या बढ्दै छ, यो राम्रो–नराम्रोभन्दा पनि व्यक्तिगत रुचि र इच्छासँग जोडिएको कुरा हो । तर, समग्रमा हाम्रो संस्कृति चेयर्स गर्ने संस्कृति होइन । राष्ट्रपति त्यसप्रकारको पृष्ठभूमिबाट आउनुभएको पनि होइन । त्यसैले राष्ट्रपतिको चेयर्समा मदिरा नभएर पानी थियो । बेलायतकी महारानी या चेयर्स कल्चरबाट आएका महिला राष्ट्रपतिहरूले स्याम्पेन या वाइनकै चेयर्स गर्ने थिए भन्न सकिन्छ । यो महिला–पुरुषभन्दा पनि संस्कृतिसँग जोडिएको कुरा हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चेयर्स प्रायः जुसमा देखिन्छ ।

विश्वमै मूलतः ड्रिंक गर्नुअघि भरी ग्लास एक–अर्कामा ठोक्काएर चेयर्स गर्ने चलन छ । यो साथीभाइ, आफन्तसँगका बसाइदेखि पार्टी हुँदै राजकीय भोजहरूमा पनि गर्ने गरिन्छ । राजकीय र अन्य औपचारिक भोजहरूमा गरिएको ‘चेयर्स’ औपचारिक हुन्छ भने अन्य अनौपचारिक । चेयर्स प्रायः स्याम्पेनमा गरिन्छ, तर ठाउँ र संस्कृति हेरेर कतै वाइनमा, कतै जुस र पानीमा पनि गरिन्छ । चीन र नेपालका दुई राष्ट्रपतिबीच पानीले भरिएको ग्लासमा चेयर्स गरिएको थियो । एक–अर्काको शुभ होस्, राम्रो होस् भनी गरिने प्रस्ताव नै टोष्ट प्रस्ताव हो । जुन मूलतः पश्चिमा संस्कृतिबाट निर्देशित छ ।

मदिरा भरिएको ग्लास ठोक्काएर एक–अर्काको शुभ चिताउँदै गरिने चेयर्स सत्रौँ शताब्दीदेखि सुरु भएको भन्ने छ । टोस्ट प्रस्तावमा एउटा ग्लास खाली, अर्को भरी हुनु हुँदैन । ग्लास ठोक्काएर चेयर्स गर्नुको अर्थ ‘हामी सँगै छौँ’ भन्नु हो । एक–अर्काको सम्मानमा गरिने यस्तो चेयर्सलाई प्रोटोकल टोस्टको रूपमा लिइन्छ । प्रोटोकल टोस्ट भएकाले राजकीय चेयर्सको महत्व शिष्टाचारसँग जोडिएको हुन्छ । त्यसैकारण एक–अर्कामा को कति झुक्ने भन्ने कुरा चेयर्सबाट झल्किने मान्यता रहेको हो । चाइनिज राष्ट्रपतिको ग्लास हाम्रो राष्ट्रपतिको भन्दा तल थियो, जुन हामीलाई दिइएको सम्मान हो । देशको राष्ट्राध्यक्षलाई दिइएको सम्मान हामी नागरिकको पनि सम्मान हो । यसलाई अन्यथा लिनुपर्ने देखिँदैन । सधैँ सबैसँग हामी नै झुक्नुपर्छ भन्ने के छ र ? ग्लास तल परेको भए हाम्रो राष्ट्रपति किन त्यसरी झुक्नुपरेको ? भनी हामीले नै प्रश्न गर्न शुरु गर्ने थियौँ कि जस्तो पनि लाग्छ ।

ग्लास ठोक्काएर चेयर्स गर्नुको अर्थ ‘हामी सँगै छौँ’ भन्नु हो । एक–अर्काको सम्मानमा गरिने यस्तो चेयर्सलाई प्रोटोकल टोस्टको रूपमा लिइन्छ । प्रोटोकल टोस्ट भएकाले राजकीय चेयर्सको महत्व शिष्टाचारसँग जोडिएको हुन्छ ।

कूटनीति र परराष्ट्र सम्बन्धमा शिष्टाचारको महत्व ठूलो हुन्छ । खाने, लाउने, बोल्ने मात्र होइन कसरी बस्ने, कतापट्टि को बस्नेदेखि लिएर शारीरिक हाउभाउसम्मले अर्थ राख्छ । त्यसो त, सर्वसाधारण सबैको जीवनमा यस्ता कुराहरूको महत्व हुन्छ । को मानिस कस्तो छ भनेर थाहा पाउने उसको व्यवहार, बोलीचाली, अरूलाई गर्ने आदर–सम्मान, प्रयोग गर्ने भाषा, लवजजस्ता कुराहरूले नै हो । फरक के हो भने व्यक्तिगत जीवनको व्यवहारले आफू र सीमित मानिसहरूलाई मात्र फरक पार्छ । राष्ट्रलाई प्रतिनिधित्व गर्ने मानिसहरूले गर्ने व्यवहारले देशलाई हेर्ने दृष्टिकोणमा फरक पार्छ । नाक, कान कोट्याउने, ख्याकख्याक, खुकखुक गर्नेजस्ता कुरा सभ्यताको हिसाबले निम्नस्तरमा गनिन्छन् । तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चीनको औपचारिक भ्रमणमा रहनुभएको बेला एउटा बैठकमा हातले नाकको बाहिरी भाग छुँदा त्यहाँका पदाधिकारीहरूले बाथरुम देखाइदिएको प्रसङ्गले त्यतिबेला निकै चर्चा पाएको थियो । उहाँको नाकको बाहिरी भाग छोइरहने बानी थियो ।

राष्ट्रप्रमुखहरूले दिने र पाहुना पनि राष्ट्रप्रमुख नै भएका कारण स्टेट बेंक्वेट अर्थात् राजकीय रात्रि या दिवाभोजको विशिष्ट महत्व हुन्छ । चीनका राष्ट्रपति आउँदा राष्ट्रपतिले खान सुरु नगरी नखाऊ भनियो, तुना भएको जुत्ता लाऊ भनियो भनेर हामीकहाँ खुब चर्चा भयो । तर, यसप्रकारका राजकीय भोजहरूमा प्रायः ड्रेस कोड राख्ने गरेको पाइन्छ । अमेरिकामा औपचारिक समारोहहरूमा कालो टाई अनिवार्य मानिन्छ, हिजोआज सेतो टाइलाई पनि समान मान्यता दिइएको छ । कतै जुत्ता, कतै कोट, कुनै न कुनै कुरामा ड्रेस कोड राखिन्छ । साथै टेबुल कसरी सजाउने, कस्तो काँटा चम्चा प्रयोग गर्ने, कसरी पस्किने, कसरी सर्भ गर्नेजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ ।

सन् १३६३ मा लन्डनमा आयोजित पाँचवटा देशका राजाहरूको राजकीय भोजलाई त्यतिबेला अद्वितीय भनिएको थियो भनी दस्तावेजहरूमा उल्लेख गरिएको छ । ‘द ब्यांक्वेट अफ फाइभ किङ’का नामले चर्चित उक्त राजकीय रात्रिभोजमा बेलायत, स्कटल्यान्ड, फ्रान्स, डेनमार्क र साइप्रसका राजाहरूको सहभागिता थियो । राजकीय भोजहरू प्रायः राष्ट्रप्रमुखको निवासमै दिने गरिएको छ । अमेरिकमा ह्वाइटहाउसमा, बेलायतमा बकिंघम दरबारमा, भारतमा राष्ट्रपति भवनमा । हामीकहाँ पनि राजसंस्था हुँदा राजदरबार या शीतलनिवासमा दिइन्थ्यो । २०४६ सालको प्रजातन्त्रपछि राणाहरूलाई गाली गर्दै भए पनि उनीहरूले बनाइदिएको शीतलनिवासलाई नै यसप्रकारका समारोहका लागि प्रयोग गर्ने गरिएको थियो । तर, अहिले यसप्रकारका स्टेट बेंक्वेटका लागि एउटा गतिलो ठाउँ नहुँदा होटेलमा दिनुपर्ने अवस्था छ । यो काम चलाउ अवस्थाको अन्त्य गर्दै राजकीय चेयर्सका लागि उपयुक्त भौतिक संरचनाको आवश्यकता देखिन्छ ।

प्रतिक्रिया