काम र तलब नपाएपछि खोटाङका पाँच युवा कतारमा अलपत्र

काम र तलब नपाएपछि खोटाङका पाँच युवा कतारमा अलपत्र


वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सञ्जीव तामाङ दुई महिनादेखि कतारमा अलपत्र परेका हुन् ।

६ महिनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एन्ड सर्भिसेस कम्पनीमा पुऱ्याइएका आफूहरूलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले बताए । ‘चार महिनासम्म लेबरको काम लगायो,’ उनले भने, ‘कम्पनीले सम्झौताविपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाई कम्पनीले भने खान र बस्न दिएर राखेको छ ।’

काठमाडौंको धुम्बाराहीस्थित टाइगर ओभरसिस मेनपावर कम्पनीमा प्रतिव्यक्ति रु. ८० हजार बुझाएर उनीहरू कतार पुगेको पीडित युवराजका दाजु राजकुमार तामाङले बताए । ‘इलेक्ट्रिसियनको काम भनेर मेनपावर कम्पनीले सम्झौतापत्र देखाएपछि मैले नै सबैजनाको धरौटीबापतको रकम बुझाएको थिएँ,’ उनले भने, ‘कतार पुऱ्याएपछि चार महिना लेबरको काम दियो र मासिक रु एक हजार १०० तलब दिने सम्झौता भए पनि उनीहरूले अहिलेसम्म एक पैसा पनि पाएका छैनन् ।’

चार महिनासम्म कम्पनीले तलब नदिएपछि दोहास्थित लेबरकोटमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको अलपत्र परेका युवाको गुनासो थियो । दुई महिनादेखि काम र शुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन उनीहरूले सम्बन्धित निकायमा गुहार मागिरहेका छन् । उनीहरूलाई कतार पठाउने धुम्बाराहीस्थित टाइगर ओभरसिस मेनपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताए । ‘०७५ फागुन १४ मा प्रवेशाज्ञा आएको देखाउँदै धरौटी रकम बुझेर चार महिनापछि जेठ २३ गते उडायो,’ उनले भने, ‘अहिले उनीहरू बसुन्धारामा राप्ती म्यानपावर कम्पनी खोलेर बसेका छन् ।’

उता मेनपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द सिवाकोटीले भने उनीहरूले बिनाकारण काम छाडेर बसेको बताए । ‘उनीहरू कम्पनीसँग लेबरमै सम्झौता गरेर कतार गएका हुन्,’ उनले भने, ‘अहिले काम छाडेर बसेका रहेछन् । सम्झौताअनुसारको काममा फर्किएमा वातावरण बनाउन सकिन्छ ।’ टिकट र प्रवेशाज्ञा निःशुल्क भए पनि सो मेनपावर कम्पनीले उनीहरूलाई प्रतिव्यक्ति रु. ८० हजार रकम असुलेको र अधिकांश व्यक्तिसँग पनि यसैगरी धरौटीको नाममा रकम असुल्ने गरेको पीडितहरूको गुनासो थियो ।

रासस