व्यापार तथा लगानी क्षेत्रमा सहकार्य गर्न ओमान प्रतिबद्ध

व्यापार तथा लगानी क्षेत्रमा सहकार्य गर्न ओमान प्रतिबद्ध


■ आरके श्रीवास्तव, ओमान

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको तेल तथा ग्यास मन्त्रालयका सचिव सालिम नासेर अल औफीबीच द्विपक्षीय भेटघाट भएको छ । सचिव औफीको कार्यकक्षमा गत आइतबार (२६ असोज) भएको सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा भएको भेटघाटमा विविध विषयमा छलफल भएको बुझिएको छ ।

भेटमा आपसी व्यापार तथा लगानीको विषयमा विचारविमर्श भएको थियोे । राजदूत ढकालले नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै हाल लगानीको लागि नेपालमा उत्कृष्ट वातावरण रहेको व्यहोरा अवगत गराउनुभएको थियो ।

ओमानी सचिव औफीले व्यापार तथा लगानीको क्षेत्रमा सहकार्यको लागि ओमान प्रतिबद्ध रहेको आश्वस्त पार्नुभएको बताइएको छ। यस्तै, राजदूत ढकालले भेटको अवसरको लागि ओमानी सचिवलाई धन्यवाद ज्ञापन गर्दै नेपाल र ओमानबीच सहकार्य जारी राख्न निरन्तर प्रयत्न जारी राख्ने उल्लेख गर्नुभएको थियो ।

सो अवसरमा ओमानको तेल तथा ग्यास मन्त्रालयका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको नेपाली राजदूतावास मस्कट ओमानले जनाएको छ ।