हागिबिस आँधीको दुष्प्रभाव : जापानमा लाखौँ घर बिजुलीविहीन

हागिबिस आँधीको दुष्प्रभाव : जापानमा लाखौँ घर बिजुलीविहीन


■ एस क्षेत्री, टोकियो (जापान)

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेहरुको संख्या ६६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले दिएको जानकारीअनुसार खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते रहेकाले ज्यान गुमाउनेहरुको संख्या सख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । आँधीबाट विद्युतीय लाइनमा आएको अवरोधका कारण धेरै क्षेत्रलाई असर गरेको छ । तेह्र प्रिफेक्चरमा १ लाख ३८ हजार घरधुरी बिजुलीविना बसिरेहका छन् ।

आँधीले धेरै प्रभावित भएको चिवा प्रान्तमा १८ हजार घर रनागानो प्रिफेक्चरमा १२ हजार घर बिजुलीविहीन रहेका छन् । सबै घरहरु सुरक्षित रूपमा बिजुली फिर्ता हुन एक हप्तासम्म लाग्न सक्ने बताइएको छ ।

इभ्याकुएशन केन्द्र र आश्रयस्थलमा बसिरहेकाहरुको अवस्थामा सुधार गर्ने प्रतिबद्धता समेत सरकारले गरेको छ । ताइफुका कारण बेपत्ता भएका र फसेकाहरुको उद्धार गर्ने कार्य समेत भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । यसका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेको छ । यस काममा सरकारले देशभरबाट सहयोग समेत प्राप्त गरिरहेको छ ।

नगरपालिकाहरुको अनुरोधको प्रतीक्षा नगरिकनै आश्रयस्थलको अवस्था सुधार्न मद्दत गरिरहेको र समय समयमा यथार्थ जानकारी उपलब्ध गराउने प्रतिबद्धता समेत अधिकारीहरुले गरेका छन् । मियागी, फुकुशिमा, साइतामा, इबाराकी, तोचिगी र नागानो प्रिफेक्चरमा सरकारले अवस्थाको निगरानी गर्न र क्षतिसम्बन्धी सूचना संकलन गर्न टोली नै पठाएको छ ।

ताइफु हागिबिसका कारण देशभर १० हजारभन्दा धेरै घरहरु बगाएको एनएचकेले बताएको छ । ९ सय घरहरुमा भने आंशिक या पूर्ण रुपमा क्षति भएका छन् । नागानो र तोचिगी लगायत १६ प्रिफेक्चरमा ७ हजार ५ सय ६ घरमा पानीको स्तर बढेको छ । शिजुओका र साइतामा लगायत २१ प्रिफेक्चरमा भने ४ हजार २ सय १३ घरमा पानी भुइँतल्लामा छिरेको छ । चिबालगायत ७ प्रिफेक्चरमा ७३ घर आधा क्षतिग्रस्त भएका छन् ।

टोकियो र कानागावा लगायत २० प्रान्तमा भने ८ सय २८ घरमा आंशिक रुपमा क्षति पुगेको छ । ताइफुका कारण कयौँ क्षेत्रमा भारी वर्षा भएको थियो । यसले गर्दा एक दर्जन भन्दा धेरै नदिमा पानीको स्तर बढेको थियो । मौसम विभागका अनुसार कयौँ क्षेत्रमा वर्षभर हुने वर्षाको ४० प्रतिशत त एक वा दुई दिनमै परेको थियो । भू–मन्त्रालयका अनुसार सोमबार साँझसम्ममा हागिबिस ताइफुका कारण सात प्रान्तका ३७ नदीमा ५२ ठाउँमा बाँध भत्किएको छ ।

अधिकारीहरुको अनुसार चिकुमा नदीको बाढी बस्तीका घरहरुमा दोस्रो तल्लासम्म छिरेको नागानोका नगरपालिकाका अधिकारीहरुले बताएका छन् हेयासु जिल्लामा बासिन्दाहरु फसेको र उद्धार कार्य भइरहेको बताइएको छ । यद्यपि, त्यहाँ मानिसहरुलाई चोटपटक लागेको वा हराइरहेको रिपोर्ट भने नआएको अधिकारीहरुले बताएका छन् ।

मध्यजापानको नागानो शहरका केही स्थानमा बाढीको पानी ४ मिटरभन्दा माथिसम्म आएको बताइएको छ । बाढीका कारण साइतामा प्रिफेक्चरको एक नर्सिङ होममा २ सय २० जना मानिसहरु फसेका छन् । त्यहाँ उद्धार कार्य भइरहेको बताइएको छ ।

खावागोएको शिमो–ओसाका शहरमा ओप्पे नदीको बाढी पसेको छ । त्यहाँ पनि डुङ्गाबाट उद्धार कार्य भइरहेको छ । मंगलबार बिहान सम्म ३५ हजार घरमा बिजुली वत्ति ठप्प छ । १३ प्रिफेक्चरका १ लाख ३८ हजार घरपरिवारमा पानीको आपूर्ति बन्द छ । केही क्षेत्रमा मोबाइल फोनमा सेवामा समस्या देखिरहेको छ ।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।