नेपाल आयरल्यान्डसँग पराजित

नेपाल आयरल्यान्डसँग पराजित


■ आरके श्रीवास्तव, ओमान

ओमानमा चलिरहेको पाँच राष्ट्र सम्मिलित टि–२० सिरिजमा नेपाल आयरल्याडसँग पराजित भएको छ । नेपालको मध्यक्रम ब्याट्समैन फ्लप हुँदा हारको सामना गर्नु परेको हो । यसअघि दुई टि–२० मा जित हासिल गरेको नेपाल आयरल्यान्डसँग १३ रनले पराजित भएको हो ।

राजधानी मस्कटको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमीको ग्राउण्डमा आयरल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । आयरल्यान्डले निर्धारित २० ओभारमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । १४६ रनको लक्ष्य पाएको नेपाल १ सय ३२ रनमै अलआउट हुन पुग्यो ।

एक समय १० ओभरमा १ विकेटको क्षतिमा ७६ रन नेपालले बनाएको थियो, तर त्यसलाई निरन्तरता दिन सकेन र तीनवटा विकेट लगातार झरेको थियोे ।

नेपालको तर्फबाट कप्तान पारस खड्काले २५ रन बनाएका थिए । त्यस्तै, ओपनर इशान पाण्डे २२ रन, आरिफ शेखले २६ र दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए । यसअघिको म्याचमा राम्रो प्रदर्शन गरेका विनोद भण्डारी एक रनमै आउट भए । सन्दिप जोराले २ रन र सोमपाल कामीले ७ रन बनाएर आउट भए ।

नेपालले अन्तिम ओभरमा २५ रन बनाउनु पर्ने थियो । क्रिजमा रहेका करण केसीले पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गरे तर तेस्रो बलमा ठूलो सर्ट खेल्ने प्रयास गर्दा आउट भएका थिए ।

बलिङतर्फ सन्दिप लामिछानेले २, अविनाश बोहराले २, ललित राजवंशी र करण केसीले एक–एक विकेट लिएका थिए । आयरल्याडका दुई ब्याट्सम्यान रन आउट भएका थिए । यसअघि नेपालले हङकङ र नेदरल्यान्डलाई हराउन सफल भएको थियोे । आज भने टेष्ट मान्यता प्राप्त टिम आयरल्यान्डलाई हराउन असफल भएको हो ।

भोली बिहीबार (२३ असोज) स्थानीय समय अनुसार दिउँसो २ म्याच हुने जनाइएको छ ।