८ मंसिर २०७७, सोमबार

बरेङका सुत्केरीलाई घरमै ‘रातो भाले’

  प्रकाशित मिति
१७ आश्विन २०७६, शुक्रबार ०९:०४


बाग्लुङको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचौँ गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको हो ।

गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षित रूपमा सुत्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण झोला र सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । ‘स्वास्थ्य संस्थामा नियमित रूपमा गर्भ परीक्षण नगर्दा प्रसूतिको बेला आमा, बच्चाको ज्यानसमेत जाने जोखिम हुन्छ,’ अध्यक्ष शर्माले भने, ‘गर्भवती, सुत्केरी हुने बेलाको संवेदनशीलताबारे सबैलाई जानकारीसहित जिम्मेवार बनाउन सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको हो ।’

स्वास्थ्य स्वयंसेविका वा आफैँ गर्भवती महिलाले गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा पुग्नासाथ संस्थाले गर्भवतीको रेकर्ड राख्नेछन् । रेकर्डसँगै गेडागुडीको बिउबिजन भएको पोषण झोला उपलब्ध गराउनेछन् । पोषण झोलामा रहेको गेडागुडी तथा सागपातको बिउ लगाएर सुत्केरी अवस्थामा खुवाउन सल्लाहसमेत दिइने बरेङ गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताए । ‘हामीले शुरुआती अवस्थामा पोषण झोलासहित गर्भवती अवस्थामा हुने परिवर्तनलगायतका विषयमा जानकारी गराउँछौँ,’ पुनले भने, ‘सुत्केरी भएको स्वास्थ्य स्वयंसेविकाबाट खबर पाएपछि रातो भाले लगेर घरमै जाने कार्यक्रम छ ।’ पुनका अनुसार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई दशैँ–तिहारलगत्तै सुत्केरीलाई रातो भाले लगेर भेट्न जाने कार्यक्रम लागू हुनेछ ।

दश लाखभन्दा बढी जनसंख्या रहेको गाउँपालिकामा रातो भाले कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि रु. १० लाख बजेटसमेत विनियोजन गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ शर्माले बताए । ‘सुत्केरी प्रोत्साहन कार्यक्रमअन्तर्गत सुत्केरीलाई सचेतना प्रदान गर्न सुत्केरीलाई रातो भाले कार्यक्रम लागू गरिएको छ,’ प्रशासकीय अधिकृत शर्माले भने, ‘यदि साकाहारी भएको र मासु नखाने सुत्केरीका लागि रातो भालेको साटो घ्यूको समेत व्यवस्था गरिनेछ ।’

स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गर्न नजाने र बरेङ घर भई पोखरा तथा काठमाडौं बस्नेलाई कार्यक्रममा समावेश नगरिने बरेङ गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई भेट्न गाउँपालिकाको समूह घरमै रातो भाले लिएर जाँदा स्थानीय सरकार दैलोमा रहेको महसुससमेत हुने गाउँपालिकाको अपेक्षा छ ।
रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित

इन्डियन प्रीमियर लीग (आईपीएल) २०२० को १३औँ संस्करण हालै संयुक्त अरब इमिरेटमा सम्पन्न भएको छ । कोरोनाको महामारीका कारण यो

रुसका डेनिल मदवेदेवले आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो उपाधि जितेका छन् । एपीटी फाइनलमा विश्व वरियताका तेस्रो स्थानमा रहेका मदवेदेवले

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज