‘ए मेरो हजूर ३’ को स्क्रिनिङ डेट तत्कालका लागि स्थगित

‘ए मेरो हजूर ३’ को स्क्रिनिङ डेट तत्कालका लागि स्थगित


■ आरके श्रीवास्तव, ओमान

ओमानमा प्रदर्शन हुने भनिएको नेपाली चलचित्र ‘ए मेरो हजूर ३’ को स्क्रिनिङ डेट तत्कालका स्थगित गरिएको छ । मिनिस्ट्री अफ फोरेन अफेयरसको स्वीकृति प्राप्त नभएकोले फिल्म प्रदर्शन रोकिएको आयोजक नम्रता झाले जानकारी दिइन् ।

झरना थापाको निर्देशन, सुनिलकुमार थापाद्वारा निर्मित र सुहाना इन्टरटेनमेन्टको प्रस्तुति ‘ए मेरो हजूर ३’ ओमानमा भव्य प्रदर्शन को तयारी गरिएको थियो । यहि अक्टोबर ४ तारिक शुक्रबारका दिन राजधानी मस्कटस्थित लुनार सिनेमा हल अल कुरूममा प्रदर्शन हुने भनिएको सिनेमा शो हालका लागि स्थगन भएको हो ।

उक्त फिल्म प्रदर्शनमा ‘ए मेरो हजूर ३’ का कलाकारहरू निर्देशक झरना थापा, निर्माता सुनिल थापा, सुहाना थापा तथा अन्य सेलिब्रेटीहरू पनि फिल्म हेर्न ओमान आउने लागभग पक्का भएको शो का कोअर्डिनेटर राजकुमार न्यौपानेले बताए । नेपाली कलाकारहरू मेगा स्टार अनमोल केसी, अर्पण थापा, सालोन बस्नेत, रविन्द्र झा, रूपा घिसिङ, रक्षा गौतमसहितका अन्य कलाकारहरूद्वारा अभिनित फिल्म ‘ए मेरो हजूर ३’ रिलिजको पूर्वसन्ध्यामा रोकिएकोले दर्शकहरू निराश बनेका छन् ।
अगामी १८ अक्टोबर २०१९ शुक्रबारका दिन रिलिज डेट तय हुन सक्ने चलचित्र प्रदर्शनका सल्लाहकार विकल झाले जानकारी गराए । एक-दुई दिनमै मन्त्रालयको स्वीकृति आएपछि औपचारिक रूपमा फिल्म प्रदर्शनको मिति सार्वजनिक गरिने जानकारी उनले दिए ।

कार्यक्रमको मुख्य आयोजक नम्रता झाले भनिन्, ‘चलचित्र प्रदर्शन रोकिएपछि पर्न गएको असुविधाप्रति सम्पूर्ण ओमानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हामी क्षमाप्रार्थी छौँ।’