‘हिन्दुराष्ट्र र राजसंस्थाको लागि प्रवासमा ठूलो जनमत’

‘हिन्दुराष्ट्र र राजसंस्थाको लागि प्रवासमा ठूलो जनमत’


राप्रपा केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्काले नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न प्रवासी नेपालीहरूको महत्त्वपूर्ण भुमिका रहने बताएका छन् । प्रवासमा बस्ने नेपालीहरू राष्ट्रलाई माया गर्ने, हरदम राष्ट्रियताको पक्षमा रहने भएकोले सनातन मुल्य मान्यता जोगाउन प्रवासी नेपालीहरूको भुमिका महत्त्वपूर्ण रहने उनको तर्क छ ।

प्रवास विभाग र प्रवासबाट प्रतिनिधित्व गर्ने प्रवासी नेताहरूको काठमाडौंमा भएको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेता खड्काले राप्रपाको मुलधारमा सबै प्रवासी नेपाली समाहित हुनुपर्ने बताए । नेपाली जनताले आन्दोलनबाट देशको वर्तमान गतिरोध र अराजकताको अन्त्य गर्दै हिन्दुराष्ट्र र राजसंस्थाको स्थापना गर्ने दाबी पनि उनले गरे ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा विभागका सदस्य–सचिव मनोज ढुङ्गेल, प्रवास कोरियाका अध्यक्ष रविन हुमागाईं, युएईका सल्लाहकार शंकर श्रेष्ठ, अमेरिकाका प्रतिनिधि रमेश लुईंटेल, भारत प्रतिनिधि विष्णु अग्रवाल, विभागका सदस्यहरू हिक्मतजङ कार्की, श्रेया केसी, विमोचन पराजुली, कुवेत प्रतिनिधि अमित कँडेललगायतले आ–आफ्ना धारणा राखेका थिए ।

बैठकले प्रवास (भारत)मा संगठन विस्तार गर्न निकट भविष्यमा भ्रमणमा जाने, कुवेतमा संगठन विस्तार गर्ने, प्रवासका सबै तहका समितिहरूले २०७७ वैसाखभित्र अधिवेशन गरिसक्नु पर्ने, अमेरिकामा प्रवासी नेपाली एकता समाज मातहत रहने गरी सनातन हिन्दु सेवा गठन गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको बताइएको छ । उक्त बैठकमा विभागका सदस्यहरू आशिष शर्मा, सुचित्रा घिमिरेलगायतको उपस्थिति रहेको थियो ।