‘भ्रमण सुनिश्चित तर मिति तय हुन बाँकी’ : मन्त्री बाँस्कोटा

‘भ्रमण सुनिश्चित तर मिति तय हुन बाँकी’ : मन्त्री बाँस्कोटा


छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनपिङको सन्निकट नेपाल भ्रमणका सन्दर्भमा विभिन्न चर्चा भइरहेका बेला सरकारले भ्रमणको सुनिश्चित भए पनि मिति भने नटुङ्गिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा रहेको जानकारी दिँदै भ्रमणलाई उपलब्धिमूलक र फलदायी बनाउन सबै प्रकारको तयारी गरिने जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्को असोज ७ गते भएको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले नेपाल सरकार चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा रहेको र समयक्रमसँगै भ्रमणको मिति टुङ्गो लाग्ने बताए । राष्ट्रपति सीको भ्रमणलाई द्विपक्षीय हित तथा सम्बन्ध नयाँ उचाइमा पु¥याउने गरी सरकारका तर्फबाट मात्र नभई सञ्चारमाध्यम र नागरिकका तर्फबाट पनि सकारात्मक भूमिका रहने विश्वास उनले व्यक्त गरे ।

समस्यारहित सम्बन्ध रहेको छिमेकी मुलुक चीन अहिले विश्वको दोस्रो शक्तिशाली मुलुकको रुपमा रहेको र त्यहाँबाट विगत २३ वर्षदेखि उच्चस्तरीय भ्रमण नभएको सन्दर्भमा चिनियाँ राष्ट्रपतिको भ्रमणलाई विशेष महत्वका साथ लिइएको उनको भनाई थियो । नेपाल सरकारले आफ्नो कूटनीतिक मामिला सञ्चालनमा यो वर्षलाई नयाँ उच्चस्तरीय भ्रमणको आदानप्रदानको वर्षको रुपमा नीति र कार्यक्रममै स्पष्ट रुपमा अघि बढाएको स्मरण गराउँदै मन्त्री बास्कोटाले उत्तरी, दक्षिणी तथा युरोपियन वा अमेरिकन जुनसुकै मुलुक र मित्रराष्ट्रका भ्रमण भइरहनुपर्छ भन्ने सरकारको मान्यता रहेको जिकीर गरे ।

विश्वमै द्रुत गतिमा विकसित हुँदै गइरहेको छिमेकी मुलुक चीनको आर्थिक, सामाजिक उपलब्धिबाट नेपालले पनि लाभ लिन चाहेको पनि उनले खुलासा गरे ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, २०७५ स्वीकृत गरेको, नेपाल ट्रस्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत भएको छ । एकल महिला सुरक्षा कोष (सञ्चालन) (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको जानकारी दिए ।

बैठकले मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाइने, एसिड आक्रमणबाट घाइते भएका जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही तीन लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।

नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि एक वर्ष दुई महीना १५ दिन थपिएको, पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएकोलगायत मन्त्रिपरिषदका निर्णयहरू मन्त्री बास्कोटाले जानकारी गराएका थिए ।