आफ्नैसँग डराए वामदेव !

आफ्नैसँग डराए वामदेव !


आगामी मङ्सिर १४ गते कास्कीमा हुने संसदीय उपनिर्वाचनमा वामदेव गौतमले उम्मेदवारी दिने विश्वास भइरहेका बेला उनले अचानक आफू त्यहाँबाट उम्मेदवार नबन्ने घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

केपी ओलीपछिको सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएका वामदेव गौतमलाई कास्कीबाट जिताएर संसदमा प्रवेश गराउन प्रधानमन्त्री केपी शर्मा ओली प्रतिबद्ध छन् । र, प्रधानमन्त्री बन्ने सम्भावनाका व्यक्ति उम्मेदवार बन्न आउने कुरालाई कास्कीवासीले पनि स्वागतयोग्य मानेका थिए । तर, अचानक वामदेव गौतमबाट उम्मेदवार नबन्ने घोषणा हुँदा उनका शुभचिन्तकहरू स्तब्ध भएका छन् ।

प्राप्त जानकारीअनुसार वामदेवले संसद्मा प्रवेश गर्ने इच्छा त्यागेर उम्मेदवार नबन्ने घोषणा गरेका होइनन् । प्रचण्ड र माधवकुमार नेपालले समेत आफूलाई चुनाव जिताउन सहयोग गर्ने वचनबद्धता प्रकट गरेको स्थितिमा मात्र उम्मेदवार बन्नु उपयुक्त हुने सोच वामदेवको थियो । पछिल्लो समय केपी ओलीनिकट पुगेको र आफ्नो बाटो छेक्न संसद्मा आउन लागेको ठहरसहित प्रचण्ड र माधव नेपालले वामदेवलाई जिताउने प्रतिबद्धता जाहेर गरेनन् । बरु कास्कीका माओवादी र माधवसमर्थकहरूले ‘वामदेव आएमा हराइदिने’ भनी टिप्पणी गरेका सूचनाहरू वामदेवसम्म पुग्न थाल्यो ।

ज्ञातव्य छ, केपीपछि प्रधानमन्त्री बन्न प्रचण्ड र माधव पालो पर्खेर बसेका र वामदेव गौतम संसदमा प्रवेश हुँदा आफूहरूलाई क्षति पुग्ने उनीहरूले ठानेका छन् । प्रचण्ड र माधवको रवैया शङ्कास्पद भएकोले उनीहरूबाट अन्तर्घात हुन सक्ने आशङ्का वामदेवले गरे र, उनी चुनावमा नलड्ने निर्णयमा पुगेको गौतमका निकवर्तीहरूले घटना र विचारलाई बताएका छन् । यसरी प्रचण्ड र माधवका कारण उम्मेदवार नबन्ने निष्कर्षमा पुगेको भए पनि स्थानीय जनता र पार्टी कमिटीहरूले विश्वसनीय आग्रह गरेमा भने गौतम कास्कीबाट उम्मेदवार बन्न अझै पनि राजी हुन सक्ने सम्भावना छ । सम्भवतः वामदेवका शुभचिन्तकहरू अहिले यस्तै आग्रहको प्रतीक्षामा रहेका छन् ।

कास्कीबाट उम्मेदवार नबनेको स्थितिमा वामदेव गौतम प्युठानबाट संसद्मा प्रवेश गर्ने सम्भावना छ । आगामी माघमा राष्ट्रिय सभाका केही सांसदहरूको दुईवर्षे कार्यकाल पूरा हुने र त्यसरी रिक्त हुन आएको स्थानमा प्युठानबाट निर्वाचित सांसद दुर्गा (मोहनविक्रम सिंहकी पत्नी) लाई चयन गरी प्युठानको रिक्त स्थानमा वामदेव गौतमले उम्मेदवारी दिनुहुने बुझिएको छ । राष्ट्रिय सभा सदस्य बन्ने सर्तमा प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिन दुर्गा तयार रहेको बताइन्छ । प्युठानबाट चुनाव लडेमा कसैले पनि अन्तर्घात गरेर हराउन नसक्ने विश्वासमा वामदेव रहेका छन् ।