पतिको किरिया नबस्नुको परिणाम चुनावमा भोग्दै विद्या

पतिको किरिया नबस्नुको परिणाम चुनावमा भोग्दै विद्या


वामदेव गौतमले कास्कीबाट चुनाव नलड्ने घोषणा गरेलगत्तै नेकपाका स्थानीय नेताहरूबीच उम्मेदवार बन्ने होडबाजी शुरु भएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न नेताहरू तुलबहादुर गुरुङ, सोमनाथ प्यासी, धनराज आचार्य र रवीन्द्रपत्नी विद्या भट्टराईबीच प्रतिस्पर्धाको स्थिति देखापरेको छ ।

उल्लिखित चारमध्ये विद्या सबैभन्दा बलियो उम्मेदवार मानिन्छिन् । तर, आफ्नो पतिको १३ दिन किरिया नबसेका कारण सर्वसाधारण जनताबीच नकारात्मक सन्देश पुगेको छ । विद्या उम्मेदवार बनेको अवस्थामा विपक्षीहरूले यसैलाई मुद्दा बनाएर उनलाई रक्षात्मक अवस्थामा पुऱ्याइदिने भएका छन् ।

विद्यापछिका सम्भाव्य उम्मेदवार सोमनाथ प्यासीलाई मानिन्छ । प्यासी उम्मेदवार बनेमा सहानुभूतिको मतले विजयी बन्ने अनुमान गरिएको छ । तुलबहादुर गुरुङ र धनराज आचार्य उम्मेदवार बनेको अवस्थामा उनीहरूले विपक्षीसँग कडा मुकाबिला गर्नुपर्ने स्थानीय विश्लेषकहरूको बुझाइ छ ।

नेकपामा वामदेवसहित पाँचजनाको नाम मात्र सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेको भए पनि काङ्ग्रेसका पौने एक दर्जन व्यक्ति उम्मेदवार बन्ने प्रतिस्पर्धामा उत्रिएका छन् । उक्त निर्वाचन क्षेत्रमा सबभन्दा उपयुक्त उम्मेदवारका रूपमा देवराज चालिसेको नाम लिइन्छ भने सोभियतबहादुर अधिकारी, कृष्ण केसी र शारदा पौडेललाई पनि राम्रै सम्भावना भएका व्यक्तिका रूपमा लिइएको छ ।

उम्मेदवार बन्ने प्रतिस्पर्धामा गुरु बराल, धनराज गुरुङ, वीरेन्द्र बिजुक्छे, कृष्ण कार्की र विजयराज आचार्य पनि रहेका छन् । निर्वाचनमा दलीय उम्मेदवारबाहेक अन्य केहीको नाम पनि स्थानीय जनताबीच चर्चामा रहेको छ । रवि लामिछाने, ज्ञानबहादुर शाही, ऋषि धमला र मुकुन्दे भनिने मुकुन्द घिमिरेको नाम स्थानीय बासिन्दाले लिन थालेका छन् । यीमध्ये मुकुन्द घिमिरेले चाहिँ आफ्नो चुनाव अभियान नै सुरु गरिसकेका छन् ।