‘सरकार इतिहासकै चरम भ्रष्टाचारी’ : कपिलवस्तु कांग्रेस

‘सरकार इतिहासकै चरम भ्रष्टाचारी’ : कपिलवस्तु कांग्रेस


■ नारद कोहार, कपिलवस्तु

नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन हिजो मंगलबार ७७ वटै जिल्लामा सरकारविरूद्द प्रदर्शन र सभा गरेको छ । यस क्रममा कांग्रेसले वर्तमान सरकार इतिहासकै चरम भ्रष्टाचारी भएको आरोप लगाएको छ ।

बढ्दो महँगी, वाइडबडी, न्यारोबडीलगायतका भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट नेतृत्वको सरकारका कुशासनविरुद्ध कांग्रेसले अन्तिम दिन कपिलवस्तुको तौलिहवामा प्रदर्शन र सभा गरेको हो ।

अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगतिविरूद्ध जागरण, युवाकेन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुईवर्षे समीक्षालगायतका कार्यक्रम गरेको थियो।

सो अवसरमा सांसद अभिषेक प्रताप शाहले दुई तिहाईको सरकारले जनतालाई केही दिन नसकेको बताए । दुई तिहाईको सरकारले जनतालाई विभिन्न वहानमा दुःख मात्र दिएकाले अब यो सरकार धेरै नचल्ने जिकीर उनले गरे ।

सभामा बोलदै संसाद अतहर कमालले अहिले नेकपाले अदालत अख्तियार र प्रशासकहरुलाई आफनो बसमा पारेकोले जनतामा तीव्र निराशा छाएकोे बताए । अख्तियारलाई समेत आफनो नियन्त्रणमा राखेर भष्ट्राचारमा मुछिएका आफ्ना नेताहरुलाई नेकपाले उन्मुक्ति दिन खोजेको उनले बताए ।

सो अवसरमा कांग्रेस नेता दीपकुमार उपाध्यायले दुई तिहाई सरकारको कार्यशैलीले जनतामा निराशा छाएको बताए ।

वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर भदौ गत २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश जागरण’ नामक दोस्रो चरणको अभियान सुरु गरेको थियो । यो अभियान मंगलबार सम्पन्न भएको छ ।

कपिलवस्तुको सभामा नेपाली कांग्रेका पूर्व पार्टीसभापति सुधाकार पाण्डेय, प्रदेशसभा सदस्य विरेन्द्र कनोडिया लगायतले पनि आफ्नो धारणा रखेका थिए । कार्यक्रम पार्टी सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षता तथा प्रेमबहादुर रायमाझीको संचालनमा भएको हो ।