यो सरकारले माखो मार्नेवाला छैन : शशांक कोइराला

यो सरकारले माखो मार्नेवाला छैन : शशांक कोइराला


नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको औंल्याएका छन् । खोटाङको दिक्तेलमा मंगलबार आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उनले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा जोड दिए ।

महामन्त्री कोइरालाले भने, ‘यो सरकारले कुनै माखो मार्नेवाला छैन । आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन । अब नेपाली जनताले सोच्ने र प्रतिकार गर्ने बेला आएको छ ।’ उनले काङ्ग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले आफैँ ध्वस्त भएको खुलासा गरे ।

“काङ्ग्रेसको विचार र इतिहास सुन्दर छ । तर, पार्टीलाई गुट–उपगुटले ध्वस्त पारेको छ”, उनले भने, ‘एउटाले टिकट पाए सबैले जिताउनु पर्नेमा हराउनुपर्छ भनेर लाग्छन्, अनि कहाँबाट काङ्ग्रेसको जित हुन्छ ? तिक्तताले हामीलाई धरासायी पारेको छ । आगामी दिनमा आपसमा रहेको तिक्ततालाई अन्त्य गरेर अगाडि बढ्नुपर्छ ।”

हालसम्म काङ्ग्रेसले गरेका राम्रा कामको प्रचार नगरिएको उल्लेख गर्दै महामन्त्री कोइरालाले अबका दिनमा काङ्ग्रेसको योगदानको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । “नेपालमा भएका महत्वपूर्ण परिवर्तन काङ्ग्रेसको नेतृत्वमा भएको छ, प्रचारप्रसार गर्न नसक्दा यसको फाइदा अरुले उठाइरहेका छन्’, कोइरालाले भने ।

नेपाली काङ्ग्रेस खोटाङले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी कार्यकर्तालाई महामन्त्री कोइरालाले अबिर लगाएर स्वागत गरेका थिए ।

pict:rss