कांग्रेसको जनजागरण अभियानमा देउवा र पौडेल पक्षधरबीच घम्साघम्सी

कांग्रेसको जनजागरण अभियानमा देउवा र पौडेल पक्षधरबीच घम्साघम्सी


■ हेमशंकर सिंह, राजविराज

वर्तमान सरकारविरुद्ध नेपाली कांग्रेसले चलाएको जनजागरण कार्यक्रममा समेत गुट-उपगुटबीचको द्वन्द्व छताछुल्ल भएको छ । केहीबेर अघिसम्म सरकारविरोधी नारा लगाउँदै गरेका कांग्रेसजन क्षणभरमै आपसी झगडामा उत्रिएका छन् ।

जागरण अभियानअन्तर्गत मंगलबार (७ असोज) राजविराजमा आयोजित विरोधसभामा आसनग्रहणको विषयलाई लिएर पार्टी नेतृत्वसँग असन्तुष्टि पोखेपछि कांग्रेसबाटै निर्वाचित एक सांसद जिल्ला सभापतिबाटै अपमानित भएका छन् ।

कार्यक्रमको संचालन गरिरहेका पार्टीका जिल्ला सचिव रामकुमार यादवसँग चौधरीले आसन ग्रहणको मर्यादा नमिलेको गुनासो पोखेपछि पार्टी सभापति यादवसहित उनका समर्थकहरुले चौधरीलाई मञ्चमै घोक्रेठ्याक लगाए । उनी सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । सभापति यादव देउवापक्ष र सांसद चौधरी पौडेल पक्षधर हुन् ।

मञ्चमा विवाद र धक्कामुक्की भएपछि लर्बराएका चौधरी मञ्चबाट भुइँमा लडेका थिए । लगत्तै उनले कार्यक्रम बहिष्कार गरेर जनआन्दोलन चौकमा कोणसभा गरेका छन् । उनीसँगै सांसद नमिता चौधरी, पुर्वसभाषद रन्जित कर्ण, नेपाली कांग्रेस जिल्ला सभापतिका प्रतिद्वन्द्वी रामदेव साह, महाधिवेशन प्रतिनिधि, हेमनारायण चौधरी लगायतका २ सयभन्दा बढि नेता/कार्यकर्ता कोणसभामा सहभागी भए ।

विवादका क्रममा पार्टी सभापति आफै अगाडि आएर तँलाई तह लगाइदिन्छु भन्दै उफ्रिएपछि अन्य कार्यकर्ताले आफुलाई घाँटीमा हात हालेर गलहत्याएको उनले आरोप लगाए । नेविसंघ जिल्ला सभापति घनानन्द यादव, विजय यादव, कांग्रेस सप्तरीका कार्यालय सचिव भुपेन्द्र यादव, लोकतान्त्रिक गैसस महांसघका जिल्ला अध्यक्ष अर्जुन यादव लगायतले आफुमाथि हात हालेको चौधरीको भनाई छ ।

सभापति यादवले पार्टीलाई गुण्डाशैैलीमा सञ्चालन गरेको आरोप लगाउँदै त्यसविरुद्ध आवाज उठाउँदा गुण्डा लगाएर दुर्व्यवहार गरेको उनले बताए । चौधरीसहित कोणसभाका सहभागी वक्ताहरुले भने पार्टीलाई विधान र पद्धतीविपरीत हाँक्ने सभापति यादवलाई साधारण सदस्य समेतबाट हटाउन केन्द्रसँग माग गरे ।