नेपाल घुम्न ओमानी पर्यटकलाई राजदूत ढकालको निम्तो

नेपाल घुम्न ओमानी पर्यटकलाई राजदूत ढकालको निम्तो


■ आरके श्रीवास्तव, ओमान

नेपालको संविधान २०७२ घोषणा भएको चौथो वार्षिकोत्सवको उपलक्ष्यमा नेपाली राजदूतावास मस्कट (ओमान)ले ‘संविधान दिवस तथा राष्ट्रिय दिवस’ एक विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ । २ असोज २०७६ बिहीबारको साँझ ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले पानसमा बति बालेर सो कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी थिइन् ।

कार्यक्रममा मन्तव्य राख्दै राजदूत ढकालले संविधान दिवसको महत्वमाथि प्रकाश पार्दै संविधान निर्माणको पृष्ठभूमिका साथै नेपालको परराष्ट्र नीति र वर्तमान सरकारको लक्ष्यको बारेमा उल्लेख गरिन् । उपस्थित पाहुनाहरूसमक्ष नेपाली पर्यटनको केही विशेषताहरू दर्शाउँदै सबैलाई ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसरमा नेपाल घुम्ने निम्तोसमेत राजदूतले दिइन् ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा ओमान सरकारका वातावरण तथा जलवायु मामिलामन्त्री मा. मोहम्मद बिन सालिम बिन सायद अल ट्रवी रहेका थिए भने राजदूत ढकाल र प्रमुख अतिथिले संयुक्त रूपमा केक काटेका थिए ।

पर्यटन प्रवर्द्धनलाई विशेष टेवा पुग्ने उद्देश्यका साथ कार्यक्रम आयोजन गरिएको थियोे । कार्यक्रममा साङ्गीतिक प्रस्तुतिका लागि नेपालबाट ‘सुरसुधा’लाई बोलाइएको थियोे भने ओमानी गायक हाईथम रफी र ग्रीक गायिका दनाई पाचियानाकीले नेपाली गीत प्रस्तुत गर्दा रोचक अनुभूति गरिएको थियो । सुरेन्द्र श्रेष्ठको नेतृत्वमा सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको थियोे ।

सङ्गीतकर्मीहरूले उपस्थित सबैलाई सारंगी, बाँसुरीका साथै अन्य धुनहरू बजाएर सबैलाई मन्त्रमुग्ध बनाएका थिए । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठको उदघोषण रहेको कार्यक्रममा नेपाली राष्ट्रिय गीतमा समावेशी नृत्यसमेत प्रस्तुत गरिएको थियोे । सदीक्षाले कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी विविध जानकारीसमेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रम–हलमा नेपालको भेषभुसा, संस्कृति, संगीत, उत्पादनहरू झल्किने गरि प्रदर्शनी समेत गरिएको थियोे ।

त्यस्तै, नेपालका विभिन्न पर्यटकीय स्थलहरूको तस्बिरहरू, अरबिक र अंग्रेजी भाषाका भ्रमण निर्देशिका पुस्तिकाहरू अतिथिहरूलाई बाँडनका साथै पर्यटन प्रवर्द्धनका लागि आकर्षक भिडियोहरू देखाइएको थियोे भने कार्यक्रममा पाहुनाका निम्ति नेपाली परिकार पस्किएको थियो ।

सो अवसरमा प्रमुख अतिथिसँगै राज्य परिषदका सदस्यद्वय अहाद बिन सुलेइमान बिन सलेह अल मेइमानी र हमद बिन सुलेइमान बिन सालिम अल सेलेमी तथा परराष्ट्र मन्त्रालयका प्रशासन तथा आर्थिक मामिलासम्बन्धी सचिव हमद बिन युसुफ बिन कासिम अल जराफि, पश्चिम एसिया विभाग प्रमुख शेख हिलाल बिन मार्हुन बिन सालिम अल मामरी, एशिया विभाग प्रमुख शेख मोहम्द बिन अब्दुल्लाह बिन आलि अलकताबी, उत्तर अमेरिका विभाग प्रमुख हनान विन्ट इब्राहिम अल शिहिय सहितका अतिथिहरूले ओमान सरकारको प्रतिनिधित्व गरेका थिए ।

कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरू, कुटनितिक कर्मचारीहरू, व्यवसायीहरू, नेपाली सोसल क्लब तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूसहित ओमानमा बस्ने तीन सयभन्दा बढि नेपालीहरूको उपस्थिति रहेको नेपाली राजदूतावास मस्कट ओमानले जनाएको छ ।