ताचीकावामा नेपाल फेस्टिवल सम्पन्न

ताचीकावामा नेपाल फेस्टिवल सम्पन्न


■ श्याम क्षेत्री, टोकियो

जापानको ताचीकावामा वार्षिक रुपमा हुँदै आएको नेपाल फेस्टिवल यो वर्ष पनि सम्पन्न भएको छ । जापान-नेपाल मैत्रीसंघ (जीनेफजी)ले आयोजना गरेको उक्त कार्यक्रममा नेपाललाई माया गर्ने ठूलो संख्याका जापानी तथा नेपालीहरुको सहभागिता रहेको थियो ।

चिरपरिचित जापानी गायिका आओइ सानोको साँगीतिक प्रस्तुती रहेको सो कार्यक्रममा नेपाली कलाकारहरुले नेपाली कला-सँस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । सो संस्थाले विभिन्न नेपाली गीत(संगीत तथा सँस्कृति झल्काउने कार्यक्रममार्फत जापानमा नेपाललाई चिनाउने कार्य गर्दै आइरहेको छ ।

सो अवसरमा जापानी नागरिक तोशिआकी इतोद्वारा निर्माण गरिएको चलचित्र कठपुतली प्रदर्शन गरिएको थियो । चलचित्रमा पुरातत्वको महत्व बारेमा प्रकाश पारिएको छ भने चलचित्र निर्माणको क्रममा आफुले नेपालीहरुको मित्रवत ब्यवहार देखेर साह्रै प्रभावित भएको उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा पूर्व परराष्ट्र उपराज्यमन्त्री ओदावारा किओसीले आफु परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा रहँदा नेपालको भ्रमण गर्ने अवसर मिलेको स्मरण गर्दै नेपाल-जापान सम्बन्धको विस्तारमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै जेएनएफसीका अध्यक्ष ताकेमोतो ताकेसीले संस्थाको आर्थिक सहयोगमा हालसम्म नेपालका हजारौँ विपन्न परिवारका बालबालिकाहरुले शिक्षा प्राप्त गरेको बताउनुभयो । यसैगरी संस्थाका निर्देशक डा. माधवप्रसाद सेढाईंले नेपालको बारेमा परिचयात्मक जानकारीमुलक आफ्नो सामग्री प्रस्तुत गर्नुभएको थियो ।