कुमार पन्तद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

कुमार पन्तद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा


गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षका उम्मेदवार कुमार पन्तले मुलुकको विकास र समृद्धिका लागि लगानी भित्र्याउने घोषणा गरेका छन् । सङ्घको अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्दै उनले मुलुकको समृद्धिका लागि गैरआवसीय नेपालीको सामूहिक तथा व्यक्तिगत लगानी भित्र्याउने आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफ्नो कार्यकालमा सानादेखि ठूला लगानीलाई अभियानमा समाहित गरी रु १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने बताए । विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहल अघि बढाउने उनको उद्घोष थियो । पन्तले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वभर नेपालको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न विशेष भूमिका निर्वाह गर्ने जनाए ।

सङ्घलाई कुनै पनि राजनीतिक छत्रछायाबाट मुक्त गरी विशुद्ध गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपालबाहिर रहेको सबै नेपालीलाई समेट्ने बताए । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले अत्यन्त न्यून ज्यालामा काम गर्नुपरेको अवस्था आफूले नजिकबाट नियालेको उल्लेख गर्दै पन्तले सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारीका लागि नेपाल सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए ।

पन्तको उम्मेदवारीलाई संयुक्त अरब इमिरेट्स, साउदी अरिबिया, मलेसियालगायत मुलुकका गैरआवासीय नेपालीले समर्थन गरेका छन् । सन् १९७६ मा गोरखाको फुजेलमा जन्मिएका पन्तले जर्मनीलगायत युरोपका विभिन्न मुलुकमा सेवा क्षेत्रमा लगानी गरेका छन् । उनले नेपालमा जलविद्युत् परियोजना, ‘बैंकिङ’, ‘रेमिट्यान्स’, ‘रियल स्टेट’, सिमेन्ट उद्योगलगायतमा लगानी गरेका जनाइएको छ ।

कुमार अहिले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को उपाध्यक्षको जिम्मेवारीमा छन् । उपाध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो । सन् २००४ मा एनआरएन अभियानमा संलग्न उनी अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रको संयोजक भएका थिए । सन् २००९–२०११ मा आइसिसी सदस्य भएसँगै उनले युरोप क्षेत्रको संयोजकको जिम्मेवारी निर्वाह गरे । त्यसपछि उनी सन् २०१३–२०१५ मा सङ्घको महासचिव भए भने सन् २०१५ यता उनी आइसिसी उपाध्यक्ष छन् ।

विभिन्न देशमा छरिएका नेपालीलाई सङ्गठित, राष्ट्रिय समन्वय परिषद् स्थापना र सञ्चालनमा समन्वय, निष्क्रिय र समस्याग्रस्त एनसिसीलाई सक्रिय बनाउन सफल भूमिका खेलेका कारण पनि उनीँ विश्वभरिका एनआरएनमाझ परिचित छन् । नेपालमा एनआरएनमैत्री नीति, नियम बनाउन, लगानीको वातावरण निर्माण तथा सहजीकरण, संसारभरिका एनआरएनलाई स्वदेशमा आर्थिक–बौद्धिक लगानी एवं परोपकारी कार्य गर्न प्रोत्साहित गर्ने अभियानमा पनि उनी सक्रिय रहँदै आएका छन् ।

भूकम्पलगायत नेपालमा बाढी, पहिरो, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला राहत, उद्धार, पुनःनिर्माणलगायत परोपकारी कार्यको संयोजन गरी पन्त आफैँ कार्यक्षेत्रमा समेत खटिएका थिए ।स्वदेशलाई समृद्ध बनाउने अभियानको साझेदार गैरआवासीय नेपाली बन्नुपर्छ भन्ने मान्यताका साथ पन्त एनआरएनको १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा सक्रिय छन् ।

ज्ञात रहोस्, विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी गएका कुमार जर्मनीको फ्र्याङ्कफर्टमा बसोबास गर्छन् ।