यसकारण फ्लप भयो सन्नी लियोनी अभिनित ‘पासवर्ड’


■ राजन घिमिरे

नेपाली भन्दा विदेशी कलाकारलाई भाउ दिने । सगौरव उनीहरुको तारिफ गर्ने अनि विदेशी कलाकार राख्दा नेपाली सिनेमाले बाजी मार्ने र दर्शकहरूले वाहवाही गर्छन् भन्ने भ्रम फेरि एकपटक तोडिएको छ । हालै रिलिज गरिएको नेपाली चलचित्र ‘पासवर्ड’मा पोर्नस्टार सन्नी लियोनीलाई करोडौँ दिएर खेलाएको दाबी गर्ने फिल्म युनिट नराम्ररी पछारिन पुगेको छ ।

विगतका दिनमा पनि विदेशी कलाकार राख्दा नेपाली सिनेमाहरू असफल भएको र व्यवसायिक रुपमा पछारिएको दृष्टान्त हुँदाहुदै त्यसबाट पाठ नसिकी ‘पासवर्ड’मा सन्नीलाई खेलाउँदा फेरि उदाहरण दोहोरिन पुग्यो । यति मात्र भएन, उनलाई सिनेमाको रिलिजमा ठुलै चामधामका साथ नेपाल पनि बोलाइयो तर, प्रतिफलमा उनी आएको खर्च पनि सम्भवतः उठेन ।

तीस करोड लगानी गरिएको भनेर दाबी गरिएको चलचित्रले प्रचारप्रसारमा प्रयोग गरिने पोष्टरको खर्च समेत उठाउन नसके पछि त्यो भन्दा लाजमर्दो कुरा के होला र ?

सन्नी लियोनीको राष्ट्रियता ‘क्यानेडियन’ हो । उनी भारतीय होइनन् । भारतीय मुलकी क्यानेडियन हुन् उनी । एडल्ट स्टारको छविबाट सन्नीले जुन विश्वव्यापी छवि बनाएकी थिइन्, त्यो छविलाई क्यास गर्नको लागि भारतमा एकता कपुर र नेपालमा चलचित्र पासवर्डका निर्माता अमित बस्नेतले उनलाई फिल्ममा लिए । यी निर्माताहरूको उद्देश्य नितान्त पैसा कमाउनु मात्रै हो । सन्नीको पोर्नस्टारको रुपमा बनेको छविलाई बेचेर पैसा कमाउनु थियो । तर, त्यो सपना पुरा गरेन पासवर्डले ।

फिल्म भन्ने कुरा कसैको प्रसिद्धि वा चर्चालाई बेचेर चल्ने होइन र चल्दैन भन्ने कुरा पासवर्डवाला टिमले बुझ्न नसक्नु नै उक्त टिमको कमजोरी थियो । सन्नी वा अन्य विदेशी कलाकारलाई राख्दैमा सिनेमा चल्ने ठोकुवा कसैले गर्न सक्छ र कोही जिम्मा लिन तयार छ भने यहाँ नेपाली सिनेमामा पचासौँ करोड लगाउन पनि तयार छन् ।

फिल्म भनेको आर्ट हो, बौद्धिक तथा सिर्जनात्मक प्रोडक्ट हो । हल्लाको खेती गर्ने र कसैको आड अनि भरमा फिल्मको लेखाजोखा गर्न मिल्दैन । त्यसकारण फिल्म नै आफूमा राम्रो हुनुपर्छ र कथावाचन चुस्त–दुरुस्त हुनुपर्छ । आज पनि सन्नीको पोर्न भिडियोहरू हिट छन्, मान्छे एउटै हो तर, त्यो चल्ने फिल्मचाहिँ नचल्ने किन त ? पोर्न फिल्म र फिल्ममा फरक छ ? समाज र व्यक्तिगत स्वतन्त्रताबीच एकप्रकारको दुरी हुन्छ । कोठाभित्र गएपछि दर्शकको चाहना अर्कै हुन्छ, रेस्टुरेन्टमा चाहना अर्कै हुन्छ । तर, मान्छे त एउटै हो नि । मान्छेको रुचि र चाहना स्थानअनुसार फरक हुन्छ ।

आदर्श र यथार्थबीच एकप्रकारको दुरी हुन्छ, त्यो दुरीलाई पहिचान गर्न नसक्नु र त्यसको मापन गर्न नसक्नु नै चलचित्र पासवर्ड फ्लप हुनुको कारण हो । फिल्म भनेको सेक्स बिक्री गर्ने पेशा, क्षेत्र वा विधा पनि होइन । विश्वव्यापी रुपमा त्यो पात्र जुन छवि र पहिचानका साथमा अगाडी बढिरहेको हुन्छ, त्यसलाई त्यहि रुपमा छोडिदिनु पर्छ । त्यसलाई सिनेमामा ल्याएर सिनेमा क्षेत्रलाई प्रदुषित गर्ने काम गर्नु हुन्न ।

हलिउडमा एडल्ट फिल्मलाई पनि सम्मान छ । अरु फिल्म जस्तै एडल्ट फिल्महरूको पनि अवार्ड हुन्छ । उत्कृष्ट नायक, नायिका, निर्देशक, छायाङ्कारहरुले पनि अवार्ड जित्छन् । एडल्ट फिल्मले अमेरिकी सरकारलाई मिलियन–बिलियन मात्रामा ट्याक्स तिर्छ । एडल्ट फिल्म आफैमा नराम्रो होइन तर समाजपिच्छे त्यलाई स्वीकार्ने वा अस्वीकार गर्ने भन्नेमा भरपर्छ । हामी बसेको समाज भनेको युरोप–अमेरिका होइन, हाम्रा आफ्नै प्रकारको भ्यालुज छ, मुल्य–मान्यता छन् । हामी व्यक्तिगत स्वतन्त्रतालाई घरमै सीमित गर्छौं र बाहिर जाँदा आफ्ना मुल्य–मान्यतालाई ध्यान दिएर त्यसको सम्मान गर्छौं ।

वेस्ट र इष्टको आफ्नै प्रकारका भ्यालुज छन् । सन्नी लियोनीलाई पहिला वेस्टले बनाएको हो तर, इष्टमा उनी चल्न सकिनन् । सन्नीलाई अमेरिकाले बनाएको हो । अमेरिकामा बनेको कुरा भारतमा चल्यो कि चलेन भनेर खोज्नु पनि त भएन नि ! इष्टको भ्यालुजबाट जन्मेको हुनु पऱ्यो, त्यसको माटो र बातावरणमा हुर्केको वा त्यसको महत्व बुझेको हुनु पऱ्यो, अनि पो स्थापित हुन सकिन्छ । अब नेपालमा स्थापित भएका महानायक राजेश हमाल हलिउडमा स्थापित हुन्छन् भनी गएर वा चाहेर त हुँदैन नि ? जस्तोकि मनिषा कोइरालाकै कुरा गरौं, भारतमा स्थापित भएकी मनिषा नेपाली सिनेमामा किन स्थापित हुन सकिनन् त ? किनकि उनलाई भारतीय परिवेशले नै हिरोइनको रुपमा स्थापित गराएको थियो । त्यसले गर्दा हामी कुन समाजबाट स्थापित भएका छौँ वा हाम्रो जरा के हो भन्ने कुरा हामीले पत्ता लगाउन सक्नुपर्छ ।

यहाँ पनि सन्नी लियोनीलाई आफ्नो आदर्श मानेर हिँड्ने एकजना युवती थिइन् अर्चना पनेरु । नग्नताकै भरमा सन्नी लियोनी बन्ने सपना सँगालेकी पनेरुको सपना त्यतिबेला चकनाचुर भयो जब उनले केही मिडिया र केवल दुइटा चलचित्रमा मात्रै सीमित हुनु पऱ्यो । जबकि नेपाली समाज र परिवेश अचर्नाले भनेजस्तो खुला थिएन । आज उनी कहाँ के गरेर बसेकी छिन्, कसैलाई पत्तो छैन ।

आज नेपाली अभिनेत्रीहरुकै कुरा गर्दा नम्रता श्रेष्ठ, निशा अधिकारी र प्रिंयका कार्कीहरू नचल्नु र उनीहरुको क्रेज घट्नुमा पनि बढि एक्सपोज नै कारण हुन् । एक्सपोजको अर्थ अश्लील वा नग्न दृश्य मात्र होइन, उनीहरू इन्स्ट्राग्राममा आइरहेका हुन्छन्, टिकटकमा अनि ट्वीटर र फेसबुकमा छाइरहेका हुन्छन् । जब सेलिब्रेटीले आफ्नो छवि र उपस्थितिलाई रिजर्व राख्न सक्दैनन् । मान्छेले यस्ता सेलिब्रेटीलाई हेर्न सजिलै सक्छ भने हलमा किन जाने ? त्यसैले नै आज नेपालमा राजेश हमाल र अनमोल केसी लगायतका केहीको मात्र क्रेज छ । ‘रिजर्व’ र ‘डिसेन्ट’ले नै पर्सनाल्टी मेन्टेन गर्ने हो । आज पनि हलिउडमा लियोनार्दो नै किन स्टार छन् त ? यसैकारणले हो । टाइटानिक त बीसौँ वर्षअगाडिको फिल्म हो तर, आज पनि यसका हिरो लियोनार्दोको क्रेज र उचाई छ । सेलिब्रेटी र व्यक्तिगत छविबीच एक प्रकारको ब्यालेन्सचाहिँ क्रियट गर्नैपर्छ ।

प्रतिक्रिया