मुल्लाको पेस्की र जनताको भुक्तानी !





■ दीपेन्द्र पाण्डे

मुल्ला नसरुद्दिनले घरेलु कामको निम्ति एक नोकर राखे । मुल्लाको सोचाइ र बुझाइमा कुवाबाट पानी भरेर ल्याउनु इज्जतदार मानिसको निम्ति उपयुक्त थिएन । एकाधपटक आफैँ पानी भरेर ल्याउँदा मुल्लाको जम्काभेट परिचित मानिससँग हुने गर्दथ्यो । उनीहरूले शिष्टाचारपूर्वक झुकेर आदाव (नमस्ते) गर्दा मुल्लाले आदाव फर्काउँथे । त्यसो गर्दा काँधमा रहेको पानी उसको शरीरभरि पर्दथ्यो । जसको कारण मुल्लाले अब्दुल नामको युवालाई पानी बोक्न नोकरीमा राख्ने निधो गऱ्यो ।

एक दिन मुल्ला नसरुद्दिनले नोकर अब्दुललाई माटोको भाँडो दिँदै भने, ‘यो भाँडो समाऊ । आजबाट तिमीले तलाउ वा कुवाबाट १२ भाँडो पानी भरेर ल्याउनुपर्ने छ ।’ अब्दुलले सहमतिमा टाउको हल्लायो । नोकर अब्दुल भाँडो लिएर पानी लिन हिँड्नै लाग्दा मुल्लाले भन्यो, ‘सावधानी अपनाउनू । भाँडो कुनै पनि हालतमा नफुटोस् ।’ सहमतिको टाउको हल्लाउँदै अब्दुल हिँड्न थाल्यो । मुल्ला फेरि बोल्यो, ‘सावधान रहनू । भाँडो फुटाए थप्पड खानेछौ । याद गर ।’

अब्दुल पानी लिन ढोकाबाट निस्कनै लाग्दा मुल्लाले कराएर नोकरलाई फिर्ता बोलायो । हैरान नोकर मुल्लाको सामु हाजिर भयो । मुल्लाले एक जोडदार थप्पड अब्दुलको गालामा लगाइदियो । अब्दुलको हातबाट माटोको भाँडो मुस्किलले फुत्कनबाट बच्यो । अब्दुलले मुल्लासँग सोध्यो, ‘मालिक किन मलाई पिट्नुभयो ? मैले त भाँडो पनि फुटाएको थिइनँ ?’

मुल्लाले भन्यो, ‘हेर भाइ, यदि मैले भाँडो फुटेपछि थप्पड मार्दा के भाँडो जोडिन्छ र ?’ ‘जोडिँदैन हजुर,’ अब्दुल बोल्यो । ‘यसैले मैले तिमीलाई पेस्की थप्पड दिएको । याद गर, भाँडो नफुट्दा त यस्तो हुन्छ भने भाँडो फुट्दा कस्तो हुनेछ ? तिमी भविष्यमा हमेसा चौकस रहनेछौ ।’

राणाशासनदेखि पञ्चायतसम्म मुलुकवासीलाई केवल अब्दुल बनाइएको कारण मुलुकले अथाह जुलुस, धर्ना, सङ्घर्ष, आन्दोलन, जनआन्दोलन गर्न विवश भएको पङ्क्तिकारको बुझाइ छ । नगरेको गल्तीको सजाय दिने मुल्लाशैलीको शासनबाट विद्रोह गरेका जनता नवमुल्लाको फन्दामा पर्दै गरेको कारण लोकतन्त्र तन्नेरी हुन सकिरहेको छैन । हरेक राजनीतिक आन्दोलन, विद्रोह, संघर्षले कानुनी र संवैधानिक वैधता खोज्छ भन्ने मुलुकवासीले नबुझे पनि उनीहरूकै मतादेशमार्फत संवैधानिक वैधता मिल्दा पनि लोकतन्त्र अब्दुलहरूको सेवा गर्न तयार भएको संकेतसमेत मिलेको छैन ।

वास्तवमा जनता अब्दुल होइनन् । हुन पनि सक्दैनन् । मुल्लाको निगाहमा बाँच्नुपर्ने अवस्था जनता कहिल्यै रुचाउँदैनन् । उनीहरू मुलुकको राज्यसत्ता नै उल्टाउन सक्षम छन् । सत्ता–नसामा चुर मुल्लाहरू फाल्न कुनै आइतबार कुर्दैनन् । विडम्बना ! अथाह शक्तिका स्रोत जनता आफ्नो भाग्य तिनै मुल्लाबाट बनोस् भन्न अहिलेसम्म राजी छन् । यद्यपि नवमुल्लाहरूमा आएको अनुपयुक्त बदलावको महसुस गरेका जनता एकाध रूपमा कडा ढङ्गले प्रस्तुत भएका घटना हाम्रासामु छन् ।

राजनीतिक मुल्लाको आशीर्वादमा मौलाएको आर्थिक अराजकताको असर सर्वसाधारण, इमानदार क्षेत्र र स्वदेशी उद्योगहरू भोग्दै छन् । सत्ताले अकल्पनीय ढङ्गले गुमाएको विश्वसनीयताको असर सामाजिक सञ्जाल, युट्युब र सडकमा पोखिन भ्याएको कारण विदेशी नियोगदेखि ट्याम्पोचालकसम्मको अराजकताले लोकतन्त्र थला परेको छ ।

जनता अब्दुल बन्दै मुल्लाको पेस्की थप्पड खान किमार्थ राजी छैनन् भन्ने सुरुवात सुनसरीबाट देवीप्रसाद रेग्मीले गरेका हुन् । रेग्मीले झलनाथ खनाललाई दिएको थप्पड मुलुकको राजनीति सुधारको निम्ति अपुग हुने बुझाइपछि कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव भट्टराईले आफ्नै गोत्रका बाबुराम भट्टराईलाई पोखरामा जुत्ता प्रहार गर्दै दिए । मुलुक परिवर्तनको सपना बाँड्दै आफ्नो मात्र परिवर्तन गर्न हतारिएको रिस बाग्लुङका पदम कुँवरले प्रचण्डमाथि पोख्न थप्पड र कुर्सीको सहारा लिए । पूर्वएमाले, नयाँ शक्ति, नेकपा माओवादीबाट मात्र राजनीति सङ्लो हुन सक्दैन भन्ने महसुस भइरहेको समयमा प्रवेश बस्नेतले काङ्ग्रेसका तत्कालीन सभापति सुशील कोइरालामाथि कुर्सी प्रहार गर्दै राजनीतिक शीर्ष नेतृत्वलाई कडा सन्देश दिए ।

डाक्टर महतको विद्वता, गिरिजाको लालचीपन, माओवादीको लुटपाटबाट मौलाएको अनौपचारिक द्वैध अर्थतन्त्रमा प्रजातन्त्र शहीद बनाइयो । अनेक कोसिसका बाबजुद भरोसायुक्त विकल्प फेला नपर्दा मुलुकवासी थकित, गलित, भोका, प्यासा नवमुल्लाबाट मुलुक परिवर्तनको झिनो आशा पाल्न विवश बनाइए । फलस्वरूप ! दलाल, बिचौलिया, प्राकृतिक साधन र स्रोतको दोहनसमेत मिसिएको नवीन अर्थतन्त्र लिएर लोकतन्त्र उदायो । सिन्डिकेट नै प्रगतिको आधार बनाउँदै हुर्केको लोकतन्त्र नवमुल्लाहरूको ‘अक्सिजन’ बनिदियो । कमाउन पनि ढङ्ग नभएका नवमुल्लाहरू वाइडबडीदेखि बालुवाटारसम्म खान पनि अख्तियारलाई साक्षी राख्न हतारिए ।

विषयवस्तु उठान गरेपछि आफ्नो धर्म पूरा भएको मान्ने लोकतन्त्रमा जनताको सवालको तथ्यपरक र न्यायसङ्गत जवाफ दिने तागत नवमुल्लाले गुमाएका छन् । गरिबको विरोध गर्दै राजनीति गर्ने गरिबहरू रातारात धनी भएको गरिबले हदै नजिकबाट भोगेका छन् । भ्रष्टाचारको विरोध गर्दै भ्रष्टाचार गरिरहेको आफ्नै आँखाले देखेका छन् । अन्याय र अत्याचारको विरोध गर्दै आफैँ अन्याय गर्न हतारिएको भोगिरहेका छन् । सर्वसुलभ शिक्षा, स्वास्थ्यको भाषण दिएर नथाक्नेहरू आफैँ व्यापार गर्न तम्सिएका छन् । सामान्य सुविधासमेत आकाशको फल भएको समयमा आकाश नै घरआँगनमा ल्याइदिने कुरा फुर्तीसाथ लगाइरहेका छन् । भ्रष्टाचारीको मुखै नहेर्ने उद्घोष गर्दै, समृद्धि र सुशासनको दुहाई दिँदै समाजवादको नारा फलाक्नेहरू व्यापारीको खर्चमा वैदेशिक उपचारमा लिप्त हुँदा पनि मर्यादा र समृद्धि पुरुष कहलिएका छन् ।

कथित वर्ग र समुदायले अधिकतम दोहन गर्न सफल लोकतन्त्रमा व्यवसायीले नाफा कमाउने स्वतन्त्रता उपभोग गर्नभन्दा सिन्डिकेटमार्फत आर्थिक जोहो गर्न हतारिएको छ । राजनीतिक मुल्लाको आशीर्वादमा मौलाएको आर्थिक अराजकताको असर सर्वसाधारण, इमानदार क्षेत्र र स्वदेशी उद्योगहरू भोग्दै छन् । सत्ताले अकल्पनीय ढङ्गले गुमाएको विश्वसनीयताको असर सामाजिक सञ्जाल, युट्युब र सडकमा पोखिन भ्याएको कारण विदेशी नियोगदेखि ट्याम्पोचालकसम्मको अराजकताले लोकतन्त्र थला परेको छ ।

‘एक बेत ब्याई आमा मरी गई’ भन्ने गाउँखाने कथाको शैलीमा अगाडि लम्किएको नवमुल्लाको शासनमा सामान्य मानिस जग्गा बेचेर सम्पत्ति कर तिर्दै छन् । विडम्बना ! देशका ठूला उद्योग करोडौँको बिजुली मिनाहा गराउन हतारिएका छन् । सामान्य जनताले अंशबन्डा गर्दा जग्गा बेचेर कर तिर्दै छन् भने एनसेलजस्तो कम्पनी सम्मानित अदालत प्रयोग गर्दै ‘लाभकर’ तिर्न नपर्ने सुविधा लिँदै छन् । मुलुकका सम्मानित संस्था, अङ्ग, निकाय, सङ्गठन, विभाग मात्र होइन स्वतन्त्र आयोगप्रति जनताको विश्वास मार्न संसद्, अदालत र सरकार हतारिएको जनताको बुझाइ छ ।

मुलुकको मर्म र अस्तित्व हिन्दूधर्म र संस्कृतिसँग गाँसिएको, हिन्दुत्वको जगमा नेपाल जीवित रहेको इसाई निचोडपछि मुलुक विघटनको निम्ति खोजिएका पात्रहरूमा बाबुरामको अनुहार खुलेर प्रकट हुँदै छ । हिन्दूधर्मलाई मुलुक निर्माणको बाधक देख्ने बाबुराम सोच निन्दनीय, आलोच्य र अपाच्य छन् ।

व्यक्तिगत कमजोरीको भारीले थिचिएका मुल्लाहरू धर्मलाई गाली गर्न तम्सिएको छ । घृणा र हिंसाको बलमा राज्यसत्ता कब्जा गर्दै जनतालाई दीर्घकालीन अब्दुल बनाउने विगतको माओवादी राजनीति असफल हुँदा भौँतारिएका कथित प्रवृत्ति फेरि एकपटक चलमलाउँदै छ । आफ्ना विचार, सिद्धान्त, व्यवहारमा खिया लागेसँगै मुलुकको प्रगतिको बाधक हिन्दूधर्म देख्ने विदेशीका भक्तहरू बाबुराम भेषमा देखापरेका छन् । मुलुकको मर्म र अस्तित्व हिन्दूधर्म र संस्कृतिसँग गाँसिएको, हिन्दुत्वको जगमा नेपाल जीवित रहेको इसाई निचोडपछि मुलुक विघटनको निम्ति खोजिएका पात्रहरूमा बाबुरामको अनुहार खुलेर प्रकट हुँदै छ । हिन्दूधर्मलाई मुलुक निर्माणको बाधक देख्ने बाबुराम सोच निन्दनीय, आलोच्य र अपाच्य छन् ।

दलाली, बेथिति, अराजकता, ढिलासुस्ती र चरम भ्रष्टाचारले थलापरेको मुलुकमा आवधिक अवधिको निम्ति चुनिएको सरकारले फालेको बहुमूल्य समय झनै पीडादायी बन्दै छ । सरकारले आफ्नो धर्म निभाउन असफल भएको बहानामा इसाई एजेन्टहरूले मुलुकमा थुपार्न खोज्ने अनेक षड्यन्त्र सर्वसाधारण जनताले चनाखोपूर्वक हेरिरहेका छन् । इसाई दानापानी, अनुपयुक्त आदेश, कथित एजेन्डा र सांस्कृतिक अराजकतालाई त्याग्दै शान्ति, स्थिरताको जगमा जनभावनाअनुरूप काम गर्दै मुलुक निर्माणमा लाग्नुको सट्टा दलितहरूलाई उत्तेजित गर्दै विद्रोह गर्न आह्वान गर्ने बाबुराम बाध्यता मुलुकको हितमा नरहेको ठोकुवा गर्न सकिन्छ ।

नवमुल्लाहरू योग्य मानिसलाई मुलुकबाट पलायन हुन बाध्य पार्दै छन् । स्तरहीन, अयोग्य, चम्चा, दलालहरू दिन दुईगुना रात चौगुना तरक्की गर्ने अवस्था सिर्जना गरिएको छ । बौद्धिक र शिक्षित मानिससँग गुलामीको योग्यता खोजिँदै छ । भाषा, धर्म, संस्कृति, परम्परासँगै नैतिकता गायव पारिएको छ । जनता पर्खन नसक्ने अवस्थामा छन् । ०४६ सालमा सामान्य किसान, मजदुर, शिक्षकको हातमा आएको राजनीति दलाल, बिचौलिया र धनीको कब्जामा फर्किएको छ । लोकतन्त्र अत्यन्त महँगो व्यवस्थामा परिणत भएको छ । सेवा, सुविधा र अधिकार खोज्ने स्थानीय जनताले गाउँगाउँमा सिंहदरबारको सट्टा सेता हात्ती पाएका छन् । सिंहदरबार कागजमा विचित्रको आर्थिक प्रगति हासिल गरेको भन्दै मख्ख छ । भएका रोजगारी बन्द गरिएका छन् । पाँच लाख वार्षिक रोजगारीको गफ नजन्मँदै टुहुरो बन्दै छ । मुलुकको दीर्घकालीन प्रगतिको डिपार्चर कहाँबाट गर्नुपर्छ भन्ने नबुझेका नवमुल्ला समाजवादको सपना बाँड्न मस्त छन् । जनता कसैप्रति विश्वास गर्न नसक्ने अवस्थामा पुऱ्याइएका छन् । आफ्नो अयोग्यताको बलमा लोकतन्त्रको आत्मा मार्न तम्सिएका नवमुल्लाहरू जनताको भावना बुझ्दै तत्काल नसच्चिए, जनताले भुक्तानी पेस्कीमा होइन एकमुष्ट गर्नेछन् ।

प्रतिक्रिया