एनसेलको नाम नसुनेको देउवाको दाबी !

एनसेलको नाम नसुनेको देउवाको दाबी !


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले एनसेलको नाम नसुनेको प्रतिक्रिया दिएका छन् । एनसेल कर छली र वाइड बडी विमान घोटला प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा प्रष्टिकरण दिँदै उनले एनसेलको नामै नसुनेको र वाइड बडीबारे पहिला कुरा उठाउने आफू नै रहेको बताएका हुन् ।

नेपाल प्रेस युनियन दाङले शनिबार तुलसीपुर (दाङ)मा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै सभापति देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने पनि बताए । काङ्ग्रेस राजतन्त्र फर्काउन लागिपरेको छ भनी हल्ला चलाउनेहरू मुर्ख रहेको उनको आरोप थियो ।

यसरी देउवाले ‘राजतन्त्र’ नफर्कने तर्क गरे पनि ‘राजसंस्था’ पुनर्स्थापनबारे भने केही बोलेनन् । ‘राजतन्त्र’ भनेको राजाले नै प्रत्यक्ष शासन गर्ने प्रणाली भएको र ‘राजसंस्था’ चाहिँ राजनीतिक व्यवस्था जेसुकै भए पनि ‘सेरमोनियल’ रुपमा रहन सक्ने एक संस्था मात्र रहेको भनी प्रष्टिकरण उनले दिएनन् । राजतन्त्र फर्कन नसक्ने देउवाको तर्कमा निकै हदसम्म सत्यता रहे पनि राजसंस्थाबारे मौन रहेर उनले कस्तो सन्देश दिन खोजेका हुन्, उपस्थित सञ्चारकर्मीहरूले समेत कुनै भेउ पाउन नसकेको प्रेस युनियनसम्बद्ध एक सदस्यले बताए ।