नयाँ व्यवस्था शुरु भएपनि परिवर्तन देखिएन : दाहाल

नयाँ व्यवस्था शुरु भएपनि परिवर्तन देखिएन : दाहाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएपनि परिवर्तन नदेखिएको गुनासो गरेका छन् । अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोले आत्तिन नहुने भन्दै यस्तो बताएका हुन् ।

इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताए । अध्यक्ष दाहालले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेसमेत बताए । नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै अध्यक्ष दाहालले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने जानकारी दिए ।

उनले आफ्नो उद्देश्य अन्तराष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तराष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए । ‘म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु’, उनले थपृ, ‘कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए । उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए ।