डेङ्गुविरुद्ध अभियान चलाउन मुख्यमन्त्रीको निर्देशन

डेङ्गुविरुद्ध अभियान चलाउन मुख्यमन्त्रीको निर्देशन


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डेङ्गुु रोग फैलिन नदिन यस विरुद्ध अभियान चलाउन स्वास्थ्यकर्मी र सरोकारवालाई निर्देशन दिएका छन् ।

धनगढीमा भएको डेङ्गु रोग नियन्त्रण सम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्री भट्टले उक्त रोगको रोकथामका लागि अपनाउनुपर्ने सबै उपायहरु कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिएका हुन् ।

बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले डेङ्गु रोगका बिरामीको मन्त्रालयले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए । बैठकमा सामाजिक विकास मन्त्रालय र अन्तर्गतका स्वास्थ्य निकायका प्रमुख एवं स्वास्थ्यकर्मीको समेत सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशमा आजसम्म डेङ्गु रोगबाट पीडित २८ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यो रोगबाट सङ्क्रमित डोटीका एक जनाको मृत्यु भएको छ ।

लामखट्टेको टोकाइबाट यो रोग लाग्ने भएकोले सो रोगको रोकथामका लागि लामखुट्टेको प्रकोप रहनसक्ने सम्भाव्य ठाउँमा विषादी छर्किने कार्यका साथै व्यापक रुपमा जनचेतना अभियान थालिएको मन्त्री सुवेदीले राससलाई बताए ।