पहिचानबिनाको प्रदेश !



■ रामभरत साह, जनकपुर

गणतन्त्रात्मक नेपाल सङ्घीयतामा गएर पनि सङ्घीयताको सर्वसाधारणले अनुभूति कहिले गर्ने ? अन्योल कायमै रहेको अवस्थामा कम्युनिस्ट सरकार र प्रदेश सरकारसमेतले नेपालीजनलाई अनुभूति गराउन असमर्थ रहेको अवस्था रहेको छ । सङ्घीयता नै समाप्त हुने हो कि सर्वसाधारणबीचको चियोचर्चा गहिरिँदै गएको पनि नकार्न सकिन्न । सङ्घीयताको स्थापनापश्चात् देशमा तीनै तहको निर्वाचन सकिएको पनि डेढ वर्ष बितिसक्दासम्म ७ प्रदेशमध्ये ४ प्रदेश अझ पनि नाम, पहिचान र भाषाविहीन रहेको अवस्था यथावत् रहे पनि नीतिनियम र कानुनविहीन रहेको छ ।

पसङ्ग छ प्रदेश नं. २ को । वास्तवमा यो प्रदेश प्रदेश नं. २ नम्बर प्रदेश हो कि प्रदेश नं. २ प्रश्न यथावत् रहेको छ । त्यस्तैगरी प्रदेशको नाउँ के ? र भाषा कुन हुने प्रश्नमा प्रदेश सभामा बहस चलिरहेकै हो । यस प्रदेशमा सङ्ख्यात्मक हिसाबले हेर्दा समाजवादी फोरम नं. १ मा रहेको राजपा र कम्युनिस्टको सहयोगमा बहुमतको सरकार भएर पनि आफूखुसी नाउँ र भाषा छान्न सकेका छैन । प्रदेशको नाम र भाषा सम्बन्धमा तीनवटा धार देखिएकोमा समाजवादी फोरमलगायतका मधेसवादी दलका केही प्रदेश सभा सदस्यबाहेक प्रदेशको नाउँ मधेस प्रदेश र भाषा हिन्दी राख्ने पक्षमा उभिएका छन् भने प्रतिपक्षमा रहेका नेपाली काङ्ग्रेस नामचाहिँ मिथिला भोजपुरा र भाषा मैथिलीको पक्षमा उभिएको छ भने नेकपाले जानकी प्रदेश नामकरण हुनुपर्ने प्रस्तावसमेत दर्ता गराएको छ ।

मधेस प्रदेशको उभिने मधेसवादी दलसँग प्रतिकारको प्रश्न छ– ८ जिल्लामा मात्र सीमित छ त मधेस ? २२ जिल्लाको माग गरी समग्र मधेस १ प्रदेश माग गर्नेहरू ८ जिल्लामा के–कति कारणले सीमित भए र कुन तर्कबाट यस प्रदेशको नाम मधेस प्रदेश हुनुपर्ने तर्क अगाडि सारेका छन् त ? सङ्ख्यात्मक हिसाबले हेर्दा पनि नेपालमा दोस्रो स्थानमा रहेको मैथिली भाषालाई नमान्ने कुनै तर्क मधेसवादी दलसँग नरहेको स्पष्ट रहेकै अवस्थामाा मेरो गोरुको बाह्रै टक्का भन्ने मधेसवादी दलले विचार गर्नुपर्ने देखिन्छ । ८ जिल्लामध्ये ५ जिल्लावासी वर्तमान समयमा पनि मैथिली भाषा बोल्छन् भने सत्ताधारी दलका केही प्रदेश सभा सदस्यहरूसमेत मिथिला, भोजपुरा र भाषा मैथिलीको पक्षमा आफ्नो मत राख्दै आएका छन् ।

पौराणिककालीन मिथिला भनेको उत्तरमा हिमालको तलहटी, दक्षिणमा गंगावारि, पूर्वमा कौशिकी र पश्चिममा गण्डक सीमा रहेको मिथिला देश, काल र परिस्थितिअनुरूप नेपाल र भारतमा विभक्त भयो भन्ने अनियमित बसोवासका प्रभावका कारण पूर्व र पश्चिम भूभाग अन्य भाषाभाषीहरूको कारण कटवै जाँदा हाल वीरगन्जदेखि विराटनगरसम्म रहे पनि वर्तमान राजनीतिक परिदृश्यका कारण वीरगञ्जदेखि कोसीसम्मको भूभागलाई प्रदेश नं. २ को भागमा ८ जिल्लामा सीमित गरिएको यस प्रदेशमा इमानदारीपूर्वक मत सर्वेक्षण गरिए अवश्य पनि यहाँका जनता मिथिला, भोजपुरा र मैथिलीको पक्षमा आफ्ना मत गर्नेछन् । प्रदेश सभामा दर्ता भएका तीनवटै प्रस्तावउपर दफावार छलफल, बहुमत, मतदान प्रक्रिया वा सहमति कुन आधारमा जाने हो वा बलमिच्याइँ र सर्वसाधारणको भावना र इच्छाविपरीत जाने हो प्रदेश सरकार ?

तर, अब यस प्रदेशलाई नामबिनाको प्रदेश र भाषाबिनाको वासीलाई नाम र पहिचानको नितान्त आवश्यकता रहेको देखिन्छ । यति मात्र नभई नीति, नियम र कानुनको पनि त्यत्तिकै आवश्यकता छन् भने आफ्नो भाषा आफ्नो भेष आफ्नो बोली आफ्नै प्रदेश आफ्नै नीति आफ्नै नियम आफ्नै कानुन आफ्नै प्रहरी र आफ्नै न्यायालय, आफ्नै बैंक आफ्नै विकास हेर्न चाहेका छन् प्रदेशवासी जनता ?

प्रतिक्रिया