मोदीले गरे यस्तो खुलासा

मोदीले गरे यस्तो खुलासा


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच उच्च राजनीतिक तहमा नियमित सम्पर्क रहेको खुलासा गरेका छन् । पछिल्लो केही अवधिमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग चार पटक सम्पर्क भएको जानकारी दिँदै प्रधानमन्त्री मोदीले नेपालको आवश्यकतालाई प्राथमिकतामा राखेर भारतले सहयोग गर्ने वचनबद्धता पनि प्रकट गरेका छन् ।

सिंहदरबार (नेपाल) र हैदरावाद (भारत)बाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको एकसाथ उद्घाटन गर्न मङ्गलबार (२४ भदौ) आयोजित विशेष अवसरमा प्रधानमन्त्री मोदीले आफू चाँडै नेपाल भ्रमणमा आउने जानकारीसमेत दिए । प्रधानमन्त्री केपी ओलीको सुस्वास्थ्यको कामना गर्दै मोदीले केपीको सक्रियताको प्रशंसा पनि गरे ।

ज्ञातव्य छ, मङ्गलबार भारत र नेपालका प्रधानमन्त्रीहरूबाट संयुक्त रूपमा उद्घाटन गरिएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो । मित्रराष्ट्र भारतको विशेष सहयोगमा निर्मित उक्त पाइपलाइन सञ्चालनमा आएलगत्तै पेट्रोलियम पदार्थको मूल्य घट्न पुगेको छ भने वार्षिक लगभग दुई अर्ब रूपैयाँ ढुवानी खर्चमा समेत कमी आउने भएको छ ।