सत्यमोहन जोशीको चित्राङ्कित सिक्का सार्वजनिक

सत्यमोहन जोशीको चित्राङ्कित सिक्का सार्वजनिक


वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चित्राङ्कित तीनथरि सिक्का सार्वजनिक गरिएको छ । दुई हजार पाँच सय र एक हजारका सिक्का पूर्ण रुपमा चाँदीद्वारा तथा एक सयको सिक्का चाँदी र तामालगायत अन्य वस्तुको मिश्रणबाट निर्माण भएको बताइएको छ ।

ललितपुर महानगरपालिका परिवारले मंगलबार (भदौ २४) जोशीको जन्मोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले उक्त सिक्का लोकार्पण गर्दै जोशीजस्ता व्यक्तिलाई सम्मान गर्न पाउनु देशकै ठूलो अहोभाग्य भएको बताए ।

सिक्का सार्वजनिक गर्न आयोजित कार्यक्रमका अवसरमा प्रतिनिधिसभा सदस्य पम्फा भुसालले उक्त सिक्कालाई लाखौँ पुस्ताले अध्ययन र अवलोकन गर्न पाउने भएकामा खुशी व्यक्त गरिन् भने महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जोशीको चित्राङ्कित उक्त सिक्का दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयको १० हजार थान नेपाल राष्ट्र बैँक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट छापिएकोे जानकारी दिए ।

‘वाङ्मय शताब्दी पुरुष जोशी जीवित इतिहास भएकाले उहाँको सिक्कालाई स्मारिकास्वरुप सदैव कदर गरी राख्नेछौँ, उक्त तीन थरिका सिक्कालाई तुरुन्तै नेपालभर प्रचारप्रसार गर्ने लक्ष्य महानगरपालिकाको छ’, उनले भने ।

महानगरपालिकाले ती सिक्कालाई सर्वसाधारणको हातमा सजिलै पुऱ्याउन महानगर–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा एक सदस्यीय टोली गठन गरी वितरण गर्ने भएको छ ।