रिटायर्ड हुनु भो ?





■ बबिता बस्नेत

रिटायर्ड जीवन भन्नेबित्तिकै मानिस प्रायः थाकेको शरीर र कामबिनाको दिक्दार जिन्दगीको कल्पना गर्छन् । अङ्ग्रेजीमा ‘रिटायर्ड’ र नेपालीमा ‘अवकाश’ शब्द नै यस्तो छ कि सुन्ने र उक्त बाटोमा भएकालाई अब त जिन्दगीको उत्तरार्द्ध त हो…के गर्न सकिन्छ र ? भनेझैँ लाग्छ । आफ्नो समयका मै हुँ भन्नेहरूलाई पनि यो शब्दले ‘म अब के हुन लागेँ ?’ भनेर झस्काइदिन्छ । यद्यपि जिन्दगीको एउटा मोडमा पुगेपछि खासै महत्वाकाङ्क्षा नभएका र जिन्दगीको महत्व बुझेका मानिसलाई भने अब मेसिनझैं काम गर्न नपाए हुन्थ्यो, घडी नहेरी आफ्नै तरिकाले बाँच्न पाए हुन्थ्यो भन्ने लाग्छ । जीवनको अवधि बुझ्नेहरूका लागि रिटायर्ड जीवन एउटा सुन्दर सम्भावना बोकेको समय हो जुन कुराहरू व्यावसायिक जीवन–समयमा गर्न पाइएन ।

मानिसले जति ठूला कुरा गरे पनि खुसीहरू ससाना कुराहरूमा अल्झिरहेका हुन्छन् । एक्लै आँखा चिम्लिएर बस्दा जे कुरा पटकपटक आँखाअगाडि आउँछन् ती नै जिन्दगीका सबैभन्दा खुसी र दुःखद क्षण हुन् । मानिसलाई दुःखका क्षणहरूले जीवनभर पछ्याइरहन्छन् भनिन्छ । त्यसैले त एकदमै दुःखका क्षण जीवनभर बिर्सन सकिँदैन । जुन क्षणहरू हाकिमले दिएका दुःखभन्दा फरक नितान्त व्यक्तिगत जीवनसँग जोडिएका हुन्छन् । सुखद क्षणहरू पनि त्यस्तै हुन् । जीवनको उत्तरार्द्धमा आँखा चिम्लिएर बस्दा आफूले कस्तो जीवन बाँचे भन्ने कुरा नै अगाडि आउँछ, सिंहदरबारको कुर्सीमा बसेर के निर्णय गरेको थिएँ भन्ने कुराले जीवनमा त्यति धेरै फरक पार्दैन ।

‘रिटायर्ड लाइफ’ भनेपछि धेरैलाई झस्काउने पैसा र निकटवर्तीको साथ नै हुन्छ, आफू बिरामी परेको बेला पैसा होला कि नहोला, साथमा को होला ? विश्वमै मानिसले यही परिकल्पना गर्छन् भनी अध्ययनहरूले देखाएका छन् । पेन्सन, सोसियल सेक्युरिटी…बुढेसकालका लागि जोहो गर्नुपर्छ भन्ने सबैलाई हुन्छ, यद्यपि जीवनले वृद्धावस्था देख्न पाउने हो कि होइन, शरीरले बुढेसकाल थेग्नुपर्ने हो कि होइन कसैलाई थाहा हुँदैन । भविष्यका लागि जोहो गर्दागर्दै वर्तमान बाँच्नै नपाई कति मानिसले यो संसार छोडिसकेका हुन्छन् ।

मानिसले जति ठूला कुरा गरे पनि खुसीहरू ससाना कुराहरूमा अल्झिरहेका हुन्छन् । एक्लै आँखा चिम्लिएर बस्दा जे कुरा पटकपटक आँखाअगाडि आउँछन् ती नै जिन्दगीका सबैभन्दा खुसी र दुःखद क्षण हुन् ।

रिटायर्ड लाइफलाई सहज रूपमा लिन हामीकहाँ मानसिक तयारी खासै देखिँदैन । जसका कारण कतिले तास खेलेर, सोसियल मिडियामा अल्झिएर समय बिताइरहेका हुन्छन् । ‘कति दिनसम्म त उहाँ कार्यालय जाने समयमा छटपटाउनुहुन्थ्यो, बाहिर–भित्र गर्नुहुन्थ्यो, आँखा कहिले दौरा–सुरुवालतिर हुन्थे त कहिले भान्सातिर । ९ बज्न लाग्दा खाना पाकेन ? भन्ने प्रश्न गरेपछि एक दिन मैले रिटायर्ड भएपछि पनि ९ बजे नै खानुपर्ने हो र ? आरामले खाऊँ न भनेपछि ए…हो त…हुन्छ भन्नुभो, घर बस्ने बानी लाग्न निकै समय लाग्यो । अचम्म त के भने सधैँ बजेर हैरान लगाउने उहाँको फोन रिटायर्ड भएपछि पूरै बज्न छोड्यो, अरू बेला कति आएकोजस्तो लाग्ने फोन उहाँको अवस्था देखेर आइदिए पनि त हुन्थ्यो नि जस्तो लाग्थ्यो मलाई । अब त बिस्तारो बानी पर्दै गयो,’

दुई वर्षअघि रिटायर्ड भएका एक उच्चपदस्थ अधिकारीकी पत्नीले यो पङ्क्तिकारसँग भनेको कुराले निकै दिनसम्म रिटायर्ड मानिसबारे सोच्न बाध्य बनाएको थियो । वर्षौं सरकारी सेवामा काम गरेकामध्ये धेरैको अवस्था करिबकरिब उस्तै हुने रहेछ । पदलाई नै आफू ठान्दै जाँदा वर्षौंसम्म खाएका नमस्कार पदसँगै पन्छिएर गएपछि ‘सन्चै ? आराम हनुहुन्छ ? या के छ खबर ?’ मा मात्रै सीमित भएका अनुभव पनि कतिसँग छन् । जिन्दगीमा पद र प्रतिष्ठा फरक कुरा हुन् । पद प्राप्त गर्ने कुरा हो भने प्रतिष्ठा आर्जन गर्ने कुरा हो ।

अवकाशप्राप्त जीवन निम्न या मध्यम पदमा रहेकाहरूको भन्दा उच्चपदस्थहरूको गाह्रो देखिन्छ । सुरक्षा क्षेत्रको आफ्नै तामझाम, न्याय क्षेत्रमा हुनेहरूको बिहानैदेखि कहिल्यै नटुट्ने चाकरीको लाइन, निजामती सेवाका उच्चपदस्थहरूको एउटा तोकले हुने र रोकिने ठूला ठूला राष्ट्रिय महत्वका कार्यहरू, साथमा आफूले जे बोले पनि हजुरजस्तो हजुर भन्नेहरूको झुण्डको सामीप्यताबाट एक्कासि टाढिएपछि मानिस त्यसै रित्तोझैँ बन्दोरहेछ । रिटायर्डमेन्टका लागि मानसिक तयारी सबैभन्दा महत्वपूर्ण कुरा हो जुन तयारी ज्यादै कमले मात्र गरेका हुन्छन् । कतिपय मानिसहरू हुन्छन् जसलाई रिटायर्ड हुनु या नहुनुले खासै फरक पार्दैन । हामीकहाँ अवकाशका लागि ५८ वर्ष उमेर र ३० वर्ष कार्यकाललाई आधार मानिएको छ । कतिपय मानिस ३० वर्ष कार्यकाल पुग्दा भर्खर अनुभवले खारिएर अबचाहिँ केही गर्छु भन्ने अवस्थामा रिटायर्ड हुन्छन् । कतिचाहिँ काम गर्न वर्षौं बाँकी रहँदै हाइ काडेर रिटायर्ड हुनुअघि नै ‘टायर्ड’ अनुहारमा जागिर धानिरहेका हुन्छन् ।

‘रिटायर्ड लाइफ’ भनेपछि धेरैलाई झस्काउने पैसा र निकटवर्तीको साथ नै हुन्छ, आफू बिरामी परेको बेला पैसा होला कि नहोला, साथमा को होला ? विश्वमै मानिसले यही परिकल्पना गर्छन् भनी अध्ययनहरूले देखाएका छन् ।

जोकोही मानिसलाई आफ्नो कामबाट दिक्क लागेपछि रिटायर्ड हुन मन लाग्छ । हाम्रोजस्तो मुलुकमा जीवनमा कहिल्यै टायर्ड र रिटायर्ड नहुने त गृहणी महिला मात्रै हुन् । उनीहरूलाई न त थाक्ने छुट छ न त अवकाश पाउने नै, जिन्दगीबाट अवकाश नपाउञ्जेल उनीहरू काममा घोटिइरहेकै हुन्छन् । किसानको अवस्था पनि करिब उस्तैउस्तै छ, ओछ्यान नपरुञ्जेल सधैँ काम । रिटायर्ड हुने भनेको पेसा, व्यवसायमा हुनेहरूले हो । विभिन्न पेसामा हुनेहरूले निश्चित अवधिमा अवकाश पाए पनि पत्रकारले भने स्वस्थ रहुञ्जेल जाँगर भए रिटायर्ड हुनुपर्दैन । भारतीय लेखक तथा पत्रकार खुसवन्त सिंह आफ्नो देहान्त हुनु केही अघिसम्म लेखिरहेका थिए । हामीकहाँ वरिष्ठ पत्रकार किशोर नेपाल, भैरव रिसालहरूको जीवनमा रिटायर्ड समय आउँछ जस्तो देखिँदैन । सधैँ व्यस्त, क्रियाशील र सिर्जनशील ।

बाँच्न जान्यो भने अवकाशप्राप्त समय नयाँ जिन्दगीको सुरुवात हो । व्यस्त मानिसका लागि हतारहतारमा बाँचेका कामकाजी वर्षहरू घडीको सुई र डायरीका पानासँगै दौडिएका हुन्छन् । यति बजे त्यहाँ जाने, यति बजे यो काम गर्ने, यति बजे कसलाई भेट्ने । काम र डेडलाइनको चाङबाट बाहिरिएर आफ्नो मर्जीको जीवन बाँच्न पाउनुजस्तो रमाइलो जिन्दगीमा अरू के होला ? मानिसका लागि संसार यति फराकिलो छ कि जहाँ जसरी रमाए पनि हुन्छ । केही समयअघि रिटायर्ड भएकी एक परिचित पूर्वउच्चपदस्थले भनेकी थिइन्, ‘रिटायर्ड भएपछि त अलि राम्रा सारी लगाएर पनि कहाँ जानु होला र ? जस्तो लागेको थियो ।’ सारी, दौरासुरुवाल या जङ्गी पोसाकबिना आफूखुसी पोसाक लगाएर घुम्नु, सहज पोसाकमा ध्यानमा बस्नु, विपश्यना जानु या आफूभित्रको संसार हेर्नुभित्रको विशालतासँग साक्षात्कार नभएका कारण त्यस्तो लागेको हो ।

अहिले शीर्षस्थ सबै नेताहरूले आफूले चाहेको जीवन बाँच्न रिटायर्ड हुने बेला भएको छ, तर उहाँहरूले चाहेको जीवन भनेकै पद देखिएकाले अवकाश उहाँहरूको रोजाइमा परेको देखिँदैन ।

राष्ट्रका लागि, देशका लागि भन्दै ठूलाठूला कुरा गर्दै जिन्दगी धान्नका लागि बाँचेको दौडधुपपूर्ण समयका कारण मानिसका जीवनमा कति सम्बन्धहरू छुटेर गए पत्तै हुँदैन । कति आफन्त, साथीभाइ र निकटवर्तीसँग राम्ररी बोल्न पनि पाइएको हुँदैन । विवाह, ब्रतबन्ध, चाडबाड, मर्दापर्दाका रीतिरिवाजहरू, साथीहरूसँगका रिएसोसिएसन, अनुभवहरूको डकुमेन्टेसन यी सबै जिन्दगीलाई हँसिलो बनाउने कुरा हुन् । कतिपय मुलुकमा राज्यले अवकाशप्राप्त विज्ञहरूलाई सम्बन्धित विषयका थिङ्कट्याङ्क बनाएर अनुभवको प्रयोग गर्ने चलन छ । तर, हामीकहाँ राजनीतिक पहुँच भएकाले अवकाश पाएको केही दिनमै अर्को राजनीतिक नियुक्ति पाए पनि सामान्य पहुँचवालाहरूका सवालमा त्यस्तो केही नभएका कारण आफूसँग वरिपरि जे छ त्यसैमा खुसी हुनका लागि आफूलाई तयार राख्नु आवश्यक छ । रिटायर्डवालाहरूलाई फेरि अर्को नियुक्ति दिनुभन्दा राज्यले सामाजिक काममा सरिक गराउने नीति लिनु राम्रो हुन्छ ।

हामीकहाँ अरूले अवकाश पाए पनि राजनीतिकर्मीहरूले भने संसार नछोडुञ्जेल पद छोड्नुहुन्न भन्ने मान्यता पनि छ, जुन सही होइन । हरेक मान्छेको जीवनमा आराम आवश्यक हुन्छ । राजनीतिक व्यक्तित्वहरूको रिटायर्ड लाइफबारे हामीकहाँ खासै चर्चा हुने गरेको छैन । सम्बन्धित व्यक्तिले भन्दा पनि वरिपरिका स्वार्थ समूहले राजनीतिकर्मीलाई अवकाश लिएर सहज जीवन बाँच्न दिइरहेको देखिँदैन । स्वास्थ्य अत्यन्त कमजोर बनेको बेला सजिलो ओछ्यान लाएर आराम गर्नुपर्ने बेलामा नेता सुशील कोइरालालाई संसद्मा पुनः प्रधानमन्त्रीको उम्मेदवारी दिन लगाउँदा उहाँ हिँड्नेभन्दा बढी शरीर घिसारिरहनुभएको थियो जस्तो लाग्छ । अहिले शीर्षस्थ सबै नेताहरूले आफूले चाहेको जीवन बाँच्न रिटायर्ड हुने बेला भएको छ, तर उहाँहरूले चाहेको जीवन भनेकै पद देखिएकाले अवकाश उहाँहरूको रोजाइमा परेको देखिँदैन । देशप्रतिको उत्तरदायित्वबोधभन्दा बढी आफ्नो महत्वाकाङ्क्षाले उहाँहरूलाई स्वस्थ र सेल्फ केयरको हिसाबले सहज जीवन बाँच्न दिइरहेको छैन ।

प्रतिक्रिया