रवि प्रकरणका उम्दा परिणामहरू





■ नकुल काजी

सबै शीत मोती हुँदैनन्
आकस्मिकता के हो भने–
समयका कराल छालहरूमा
र, अन्तराल–अन्तरालहरूमा
कुनै–कुनै थोपाले
समुद्रको अतल गर्भमा पुगेर
ठोस हुन सकेको हुन्छ…
त्यही त अमूल्य मोती !

यो मेरै एउटा कविताको एक अनुच्छेद हो, जो मैले मेरो साहित्य र पत्रकारिता सेवाका कलिलो कालको मुख्य अगुवा, सगोल साहित्य समाजका सुप्रसिद्ध रथि, गुमानसिंह चाम्लिङको कुनै जन्मदिनमा उहाँले अघि सारेको ‘स्मरण–डायरी’–मा आजभन्दा ५९ वर्ष पहिले अर्थात् सन् १९६० को मे ७ तारिखको बिहान लेखेको थिएँ । आज यतिपछि म यही कवितापङ्क्ति आजको ताजा वर्तमानको सञ्चार सेवा समाजमा बेग्लै विशिष्ट एवम् उपमेय किसिमबाट उदाएका रवि लामिछानेलाई अभ्यन्तरमा राखेर लेख्दै छु ।

यो उद्वरण किनभने उनको पत्रकारिता शैलीले मैले मोफसलमा रहेर विगत ५७ वर्षदेखि अभ्यासमा उतार्ने जमर्को गर्दै आएको पत्रकारिता शैलीलाई सङ्गति प्रदान गरेका सुखद अनुभूति केही समय अघिदेखि ममा मुखर हुँदै आएको थियो । उनीसँग मेरो साक्षात् चिनारी छैन, तापनि भाव–सङ्क्रमणको मनोविज्ञानद्वारा म उनीसित नजिकिइरहेको परिप्रेक्ष्यमा चितवन (भरतपुर) मा भदौ ११ गते उनले लोकप्रियताको छानो छोएको प्रमाण जाग्रत भएको मैले देखेँ–बुझेँ र त्यसलाई अवसरमा रूपान्तर गर्दै यहाँ हर्षातिरेक बधाई दिन लागेको हुँ ।

अर्थात् आज र आजउप्रान्त जनसमाजसँग सञ्चारकर्मीको परिचय र प्रभावको ज्वलन्त नमुनाका रूपमा साँचो प्रतीक भएर यथार्थको अविकृत चित्र आँक्न कुशल रविको सफलता प्रशंस्य छ । कहिलेकाहीँ सिकारीका घेराबन्दी र विषाक्त प्रहार विफल हुँदा लक्षित सिकारका लागि सुखद फलदायी हुँदो रहेछ । यस्ता निकै अनुभव ममा पनि हृदयाकृत छन् । रवि बोल्छन्, म लेख्छु; फरक यति नै हो र हो– राजधानी र मोफसलको कटु पार्थक्य !…

रवि लामिछानेलाई पत्रकारितासँग सम्बन्धित राज्यसंरक्षित उपल्लो नियामक निकायसमेत अनुबन्धित राज्यशासनका संयन्त्रमध्येका भ्रष्ट र राष्ट्र–दोहनमा पल्केका तिनका जयगानेहरू, तस्कर–माफियासँग दौत्य सम्बन्ध गाँसी राज्यलाई भ्रमित तुल्याउने लुटेराहरूको सेन्डिकेट, राज्यकोषका सट्टेबाज खेलाडीहरू इत्यादिको गुरुयोजनाअन्तर्गत जे–जो भयो; सो भएको तथ्य अहिले उजागर हुने क्रममा छ । खासगरी प्रकाशनहरूले पाउने सरकारी अनुदानको वर्गीकरणलाई दुष्प्रभावित गर्ने डरको लगाम समाइरहेको निकायलाई ‘सिकारी कुकुर’–को रूपमा प्रयोग गर्ने रणनीतिक खेलले वातावरण भयावह बनाइएको हुँदा उक्त ‘सिकारी कुकुर’ स्वच्छन्द भइरहेको प्रतिक्रिया पनि रविलक्षित उल्फाको मुद्दा प्रकरणकै सन्दर्भबाट व्यक्त हुन थालेर सर्वव्यापी बन्दै गएको अवस्था छ अहिले ।

सिंहदरबारदेखि नेताका नवाबी महलहरू चहार्दै प्रदेश–प्रदेश, पालिका–पालिका र वडा–वडा छिर्दै भ्रष्टाचार, धाँधली, दण्डहीनता, सेन्डिकेट सेटिङबाट आमनागरिकको भागभण्डारमै हमला बोल्ने लुटेराहरूको काइटो बसाउने दिन सम्भवतः टाढा छैन ।

रविलक्षित मुद्दाको प्रकृतिले प्रहरीलाई पनि विवादमुक्त राखेको छैन । विशेषतः प्रमाणका रूपमा अघि सारिएको भिडियो, लास मुचुल्का गर्दाकै अवस्थामा प्रहरीले लिएको भिडियो र सार्वजनिक भएबाटै चितवन प्रहरी आलोच्य भएको छ । यी सबै कुरामा पत्रकारितालाई आचारसंहिता लगाउने अख्तियारशाली नियामक निकाय अग्रसर भएको अवस्था वास्तवमा नहुनुपर्ने भएको हुँदै हो । यी सबैका नेपथ्यमा लुकेका कथाहरू पनि जरैदेखि खोजिन थालेको सुनिँदै छ । यसबाट पत्रकारिताजस्तो मर्यादित र स्वतन्त्र बौद्धिक व्यवसायलाई समेत सत्तारुढ राजनीतिको भजने बनाई देशमा एकाधिपत्य शासन गर्ने चाहना पनि धुलोपिठो हुने भावी सम्भावना बढेको सन्देश प्रवाह हुन थालेको छ । यो रवि लामिछानेका प्रस्तुतिहरूबाट प्रभावित जनभावनाको ताजा प्रकटीकरणको चिरअपेक्षित परिणाम हो । धन्य छन् रवि !

जनताले आफ्ना हित सम्वर्द्धनको आशामा तिरेका तिरो सञ्चित ढिकुटीमा रैफाँडो मच्चाएर आफूमा ऐस–आराम र विलास जुटाइरहेका तहतहका बहुमतियाहरूका लागि समेत चुनौती दिने समयको जग बसाएको छ– रवि प्रकरणले । जनताको तिरोबाट आफूलाई सत्रौँ शताब्दीका सामन्तजस्तो बेधक उनै जनतालाई ‘समृद्धि’ सुनाइहिँड्ने, उरन्ठेउला कामको गुड्डी हाँक्ने र ‘हाम्रा’ लाई नजिक राखेर ‘राम्रा’ जतिलाई लघार्नेजस्ता क्रियाकलापविरुद्ध रवि प्रकरणबाट शुरु भएको भण्डाफोर अभियानको पूर्ण तयारी निर्वाध विकसित हुने बाटोमा छ । आफ्नो कर्तव्यप्रति लापरबाह रही आफूलाई शासक बनेको ठान्नेहरूलाई त्यस ठाउँमा पुऱ्याउने जनतामा बढेको वितृष्णाले नै ठेगान लगाउने पूर्वाधार तयार भइरहेको अनुमान हुँदै छ । जननिर्णयबाट स्थापित समयले यसै भन्दै छ । जनताका निश्छल अनुकम्पाबाट शक्ति र अधिकारमा पुग्नेहरूले आफू बसिरहेका निकायसँग जनतालाई जोड्ने सदाशय देखाएनन् भने त्यो उनीहरूका लागि आत्मघाती बन्ने समयको उदय भएको छ । यो पनि रवि लामिछानेले उनीप्रतिको जनविश्वासको प्रवर्द्धनबाट तयार गरेको धरातलीय परिवेश नै अन्ततः जनता जागरुक हुने प्रेरणाको सम्बल बनेको ठान्दा हुने भएको छ ।

यसरी वातावरण सदाचारी र न्यायसङ्गत बनाउने प्रयत्नलाई जनताले आफू लगातार सरकारी ढँटाइमा परिरहेको पीडा शमन गर्ने र ‘समृद्धि’लाई व्यावहारिक धरातल टेकाउने सफल उपायका रूपमा आँक्न थालेका छन् । यो रवि प्रकरणले उमारेका समयापेक्षित बिरुवा हो, जो देशव्यापी लहलहाउने उपक्रममा छ । र, जनअसन्तुष्टिको उभार अझ चुल्याउने गन्तव्यतिर प्रस्तावित छ । अब किनुवा पत्रुरूपी समाचार, टिप्पणी र चाकरिया कथन–कीर्तनले जनमानसलाई भ्रमित पार्ने जमाना आखेटमा परेको प्रतीत हुन थालेको छ ।

झोलेझल्लेहरूका परीकथा किनेर आफ्नो श्रेष्ठता प्रतिष्ठापन जनतालाई फोस्रा आश्वासन र ढाँट प्रतिबद्धताले अल्मल्याई आफू समृद्धिको नाफादारी उद्योग चलाउनेहरूको खाइजिलो–उद्यमलाई अब रवि शैलीले ठाडो ‘चेक’ दिएको मान्दा हुन्छ । सिंहदरबारदेखि नेताका नवाबी महलहरू चहार्दै प्रदेश–प्रदेश, पालिका–पालिका र वडा–वडा छिर्दै भ्रष्टाचार, धाँधली, दण्डहीनता, सेन्डिकेट सेटिङबाट आमनागरिकको भागभण्डारमै हमला बोल्ने लुटेराहरूको काइटो बसाउने दिन सम्भवतः टाढा छैन । त्यस स्थितिमा रवि लामिछानेलाई देशव्यापी मसिहा करार गरिए पनि मुलुकका दोहनकारी धमिराहरूचाहिँ फेरि पनि सुध्रिने हुन् कि होइनन् ? जनमनमा संशयपूर्ण सन्ताप व्याप्त छ ।

प्रतिक्रिया