हिन्दू धर्ममाथि प्रहार हुन खोजेको छ : अध्यक्ष राणा

हिन्दू धर्ममाथि प्रहार हुन खोजेको छ : अध्यक्ष राणा


राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणाले हिन्दू धर्ममाथि प्रहार हुन खोजेको बताएका छन् । नेपाल गृहस्थ धर्मसेवा सदन सामाखुशीले कुशे औँसीका अवसरमा आयोजना गरेको ‘पिता सम्मान कार्यक्रम’मा उनले सनातनदेखि चल्दै आएको धर्ममाथि प्रहार हुन खोजेको बताएका हुन् ।

‘परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व हो’, उनले भने । अध्यक्ष राणाले धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्या्दित बनाएको उल्लेख गरे । पूर्वमन्त्री एवम् विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले जीवनमा लामो अनुभव भोगेका ज्येष्ठ नागरिकबाट समाजले पाठ सिक्नुपर्ने बताए । ‘पिताको सम्मान गर्नु नै सबैभन्दा ठूलो पुण्य प्राप्ति गर्नु हो’, उनले भने ।

विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले बुबाआमालाई एक दिन मात्र सम्मान गरेर पर्याप्त नहुने बताए । ‘मन्दिरमा गएर मात्र धर्म मिल्दैन, दिन दुःखी, असहाय, गरीबको सेवा गर्नु धर्म हो’, उनले भने । एक दशकपहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिए ।