पुन दम्पत्ति सुटुक्क बैंककमा, विवादास्पद ‘ट्राभल्स एजेन्ट’ले गरे खातिरदारी !

पुन दम्पत्ति सुटुक्क बैंककमा, विवादास्पद ‘ट्राभल्स एजेन्ट’ले गरे खातिरदारी !


■ एस प्रधान, ब्याङ्कक

करिव ६ देखि सात वर्ष अगाडि ललितपुरस्थित ललित मण्डप ट्राभल एजेन्सीमा व्यापक घोटला भएपछि सञ्चालक सुरज शाक्य झिटीघुम्टा बोकेर नेपालबाट पलायन भए । उनी कहाँ गए कसैलाई पत्तै भएन । उनबाट आर्थिक रूपले पीडितहरूले शाक्यको ब्यापक खोजी गर्न थाले, तर कहाँ गए कसैले भेउ पाउन सकेनन् । यसरी सुरज शाक्य हराएपछि पैसा असुल्ने या पीडितहरूले पैसाको माया मार्न थालिसकेका थिए ।

तर, करिव सात वर्षपछि उनी टुप्लुक्क वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्तीसँग टुप्लुक्क ब्याङ्कक शहरमा झुल्किए । आज (भदौ १२) वर्षमान पुन आफ्नी श्रीमती र सुरज शाक्यकी श्रीमती जेनी शाक्यका साथ काठमाडौंबाट उडान भरेर ब्याङ्कक आइपुगेका छन् । पुन दम्पत्तिलाई ब्याङ्ककमा स्वागत गर्ने नै सुरज शाक्य देखिएका छन् ।

जेनी शाक्य नेपाल टेलिकममा काम गर्ने साधारण कर्मचारी हुन् । तर, उनी अस्वाभाविक तवरले बार–बार ब्याङ्कक आइरहन्छिन् । झट्ट अनुमान लगाउँदा त नेपालमा धेरैलाई ठगी गरेर ब्याङ्ककमा ‘भूमिगत’ भई ललीत ट्राभल्सकै नामबाट व्यापार गरेर बसेका आफ्ना श्रीमानलाई भेट्न आएकी हुन् भन्न सकिएला । तर, श्रीमान ब्याङ्ककमा भएकै कारण उनलाई भेट्नकै निम्ति मात्र टेलिकमकी यी सामान्य कर्मचारीको ब्याङ्कक आवतजावत हुने गरेको भने होइन ।

विशेष सुत्रबाट बुझिएअनुसार ठगीका अभियुक्त सुरज अहिले ब्याङ्ककमा बसेर सुन र हुण्डीको व्यापार गरेर बसिरहेका छन् । जेनी शाक्य आफ्नो श्रीमान भेट्न पटक– पटक आइरहन्छिन् र ब्याङ्ककबाट नेपाल व्यापार पनि गरिरहन्छिन् । तर, एउटा साधारण कर्मचारी कुन हैसियतले वर्षमा त्यत्रोपटक छुट्टी मिलाउन सफल हुन्छिन् र जति पटक आए पनि ब्यापारको सामान नेपाल लैजान कसरी सफल भइरहन्छिन् ?

सुत्रका अनुसार श्रीमती जेनीको ठूला नेताहरूसँगको उठबसले गर्दा उनका श्रीमान् ६–७ महिना अगाडि करिव सात वर्षपछि नेपाल जानसमेत सफल भएका थिए । भोलि (भदौ १३) वर्षमान पुनको जोडी र सुरज शाक्य एवम् उनकी श्रीमती सिंगापुर उड्दैछन् । त्यहाँ ‘उपचार’ गर्न बसेका देशका प्रधानमन्त्री केपी ओलीलाई भेटेर केही भलाकुसारी त गर्ने नै छन् । सो भेटपश्चात् पुन दम्पती बाली प्रस्थान गर्दैछन् भने शाक्य दम्पतीचाहिँ ब्याङ्कक फर्किने योजना छ ।

देशका बिरामी प्रधानमन्त्री भेट्ने नेकपाका ‘प्रभावशाली’ नेता–जोडीको ‘ब्याङ्कक कनेक्सन’ले देशको निम्ति कस्तो ‘ओखतीमूलो’ गर्ला ? तीव्र चासोको विषय बनेको छ ।

pic:google