सर्वाधिक धनराशिको भलिबलको उद्घाटन प्रचण्डले गर्ने

सर्वाधिक धनराशिको भलिबलको उद्घाटन प्रचण्डले गर्ने


प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

दिवंगत प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ २४ देखि २८ सम्म सर्वाधिक धनराशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिने बुधबार राजधनीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्ने गरी हालै स्थापित गठन भएको प्रगतिशील युवा नेपाल अध्यक्ष दीपक थापाले खेलाडीमा नयाँ उर्जा थप्न राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए । अध्यक्ष थापाले खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार रहे पनि उल्लेख्य फड्को मार्न नसकिरहेको अवस्थामा प्रगतिशील युवा नेपाल खेलकुदमा नयाँ उर्जाका साथ जोडिएको बताए ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । जुन पुरुष भलिबलमा सर्वाधिक पुरस्कार राशी हो । प्रतियोगितामा दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथोले ५० हजार रुपैयाँ हात पार्नेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ भने स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ हात पार्ने महासचिव सुनिल थापा मगरले जानकारी दिए ।

प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी गराए । एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनैजनाले एकैपटक कोर्टमा उत्रन पाउनेछ । प्रतियोगिताको अनुमानित खर्च करिव ३८ लाख ५० हजार रुपैयाँ रहने आयोजकको अनुमान छ ।
प्रतियोगिताको उद्घाटन पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने आयोजकले गराएको छ ।