‘शिताङ्ग’ काङ्ग्रेसमा शीतयुद्ध

‘शिताङ्ग’ काङ्ग्रेसमा शीतयुद्ध


भ्रष्टाचार र करआतङ्कले मुलुकलाई आक्रान्त पारेका बेला प्रमुख प्रतिपक्षको औपचारिक हैसियतमा रहेको नेपाली काङ्ग्रेसको नेतृत्व जनताको समस्या समाधानमा भन्दा आफ्नै भविष्य सुरक्षित तुल्याउने उपायको खोजीमा केन्द्रित रहेको छ । डेढ वर्षपछि हुने विश्वास गरिएको काङ्ग्रेसको चौधौँ महाधिवेशनमा आफ्नो स्थान ९उयकष्तष्यल) सुरक्षित गर्ने प्रतिस्पर्धामा काङ्ग्रेसका नेताहरू अहिल्यैदेखि जुटेका छन् । सभापति शेरबहादुर देउवाका सोच र शैली हेर्दा उनी अर्को एकपटक सभापति बन्न इच्छुक रहेको देखाउँछ भने देउवालाई टक्कर दिन डा. शेखर कोइराला मैदानमा उत्रिएका छन् । डा. कोइरालाले भित्रभित्रै देशव्यापी कार्यकर्ता भेटघाट अभियान चलाइरहेका छन् । उनले आफू सभापति, प्रकाशमान सिंह, विजय गच्छदार र कृष्ण सिटौलामध्ये दुईलाई उपसभापति तथा गगन थापालाई महामन्त्री बनाउने गरी टिम निर्माण गर्न खोजेको बुझिन्छ ।

अहिलेसम्म कोइराला सभापति र गगन महामन्त्री भएर टिम बन्ने निश्चित भइसकेको छ । डा. शेखरको टिमभित्र मीठाराम विश्वकर्मालाई महामन्त्रीको अर्को उम्मेदवार बनाउनेबारे पनि छलफल चलिरहेको बुझिएको छ । कोइराला पक्षका मानिने नेताहरू डा. रामशरण महत, डा. शशाङ्क कोइराला र रामचन्द्र पौडेलको व्यवस्थापन कसरी गर्ने भन्ने विषयले डा. शेखरलाई पिरोलेको बताइन्छ । यसरी शेखर कोइराला धेरै अघि बढिसकेको भए पनि डा. शशाङ्कसमेत सभापति पदका निम्ति इच्छुक छन् । अहिले शेखरले सक्रियता दर्शाइरहेको भए पनि अन्ततः कोइरालाको टिमबाट आफैँलाई सभापतिको उम्मेदवार बनाइनेमा शशाङ्क ढुक्क देखिन्छन् । शेरबहादुर देउवा जतिसुकै अलोकप्रिय भए पनि पार्टीको नेतृत्व तहमा उनको टिम एकताबद्ध र मजबुत रहेका कारण अझै पनि देउवालाई पूरै अन्डरमाइन्ड गर्न सकिने स्थिति छैन ।

देउवाको कित्तामा देउवाबाहेक अन्य कोही पनि सभापतिको दाबेदार छैनन् । महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, बालकृष्ण खाँड, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, रमेश लेखक र भीष्मराज आङ्देम्बेलगायतका नेताहरू एकमनले देउवालाई नै सभापति बनाउने पक्षमा छन् । तर, कोइराला पक्षमा भने डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलसमेत सभापतिको उम्मेदवार बन्ने मासिकतामा छन् । त्यसैले कोइराला पक्षभित्र आन्तरिक समीकरण मिलाउन नै मुस्किल पर्ने देखिन्छ । आफू सभापति पदको उम्मेदवार बन्न नपाएमा रामचन्द्र पौडेल आफ्नो उत्तराधिकारीका रूपमा छोरा चिन्तनलाई अघि बढाउन चाहन्छन् । जुन पक्षले छोरालाई उच्च स्थान दिन्छ रामचन्द्र त्यतैपट्टि लहस्सिने सम्भावना देखिएको छ ।

जे भए पनि आफू र गगन एकातिर हुँदा कार्यकर्ताले आफ्नै टिम रोज्ने विश्वास डा. शेखरमा देखिएको छ । केही बूढा नेताहरू देउवातिर नै सरेछन् भने पनि त्यसले खासै ठूलो फरक नपार्ने विश्लेषण डा. शेखरको भएको बुझिन्छ । अर्कोतिर पश्चिमी मुलुकको जोडदार साथ गगन थापालाई रहेकोले आर्थिक रूपमा यो टिमलाई समस्या नपर्ने देखिएको छ । तेह्रौँ महाधिवेशनमा देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका नेता अर्जुननरसिंह केसी आगामी महाधिवेशनमा कतापट्टि उभिने हुन् यकिन भइसकेको छैन । पछिल्लो समयमा डा. रामशरण महतसँग पनि समझदारी विकास भएकोले जतापट्टि उभिए पनि दुवै नेताहरू एकै ठाउँमा हुने सम्भावना छ । रामचन्द्र पौडेल, विजय गच्छदार र शशाङ्क कोइरालाले भने अन्तिम समयमा आएर के गर्ने हुन् भन्ने आशङ्का पार्टीभित्र गर्ने गरिएको छ ।

नेपाली काङ्ग्रेसको आगामी महाधिवेशनमा विजयी बन्नका लागि हिन्दूराष्ट्रको एजेण्डा बोक्नुपर्छ भन्ने मत बलियो हुँदै गएको छ । पार्टीका नेताहरूमध्ये हिन्दूराष्ट्रको सबैभन्दा विरोधी मानिएका गगन थापा, विमलेन्द्र निधि, रामचन्द्र पौडेल र कृष्ण सिटौलासमेत महाधिवेशन नजिकिँदै जाँदा हिन्दूराष्ट्रको पक्षमा भएजस्तै गरी नौटङ्की देखाउन अग्रसर भए भने अनौठो मान्नुपर्ने हुँदैन । महामन्त्री पूर्णबहादुर खड्का त पहिलेदेखि नै हिन्दूराष्ट्रको पक्षमा रहेका हुन् । शशाङ्क कोइराला र बालकृष्ण खाण पनि यदाकदा हिन्दूराष्ट्रको पक्षमा अभिव्यक्ति दिने गर्दछन् । पुष्पा भुसाल, शङ्कर भण्डारी र देवेन्द्रराज कँडेल पनि पहिलेदेखि नै हिन्दूराष्ट्रका पक्षमा दृढतापूर्वक उभिँदै आएका छन् । महाधिवेशनसम्ममा शेरबहादुर देउवा र आरजुले समेत हिन्दूराष्ट्र हुनुपर्छ भन्न थाले भने आश्चर्य मान्नुपर्दैन । तर, देउवा, पौडेल, निधि, थापा र सिटौलाले हिन्दूराष्ट्रको पक्षमा आफू भएको भ्रम त्यतिबेलासम्म मात्र दिनेछन् जबसम्म पार्टीको पदाधिकारीमा आफू विजयी बन्ने छैनन् । विजयी बनिसकेपछि वर्तमानमा झैँ त्यसपछि पनि धर्मनिरपेक्षताकै पक्षमा दृढतापूर्वक उभिने नेताका रूपमा निधि, थापा, पौडेल, सिटौला र देउवालाई लिइएको छ ।

नेपाली काङ्ग्रेस यतिबेला विचारदर्शनविहीन र साङ्गठनिक रूपले पनि दुर्बल बन्न पुगेको छ । कम्युनिस्टलाई परास्त गर्न सक्ने कुनै अस्त्र तयार गर्न काङ्ग्रेसले सकेको छैन । तर, पार्टीभित्रका आफ्नाहरूसँग लड्न महाभारतको तयारीमा भने काङ्ग्रेसका नेताहरू जुटिसकेका छन् ।