आरजुले ‘काङ्ग्रेस बन्न’ सिकाउने !

आरजुले ‘काङ्ग्रेस बन्न’ सिकाउने !


‘बाँचिरहे अनेक देख्न पाइन्छ’ भन्ने नेपाली उखानको चरितार्थ नेपाली काङ्ग्रेसमा भएको छ । प्रजातन्त्र र काङ्ग्रेसप्रति बैरभाव राख्ने ‘स्कुलिङ’बाट दीक्षित व्यक्तिबाट ‘कस्तो काङ्ग्रेस बनाउने’ भन्ने प्रशिक्षण लिनुपर्ने भएपछि काङ्ग्रेसभित्र पुरानो उक्तिको स्मरण भएको हो ।

अहिले काङ्ग्रेसको नीति तथा प्रशिक्षण विभागले सातवटै प्रदेशका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूका निम्ति भन्दै प्रशिक्षण कार्यक्रम शुरु गरेकोे छ । प्रदेश ४, ५ र ६ का महाधिवेशन प्रतिनिधिहरूलाई ‘प्रशिक्षित’ गर्ने कार्य सम्पन्न भइसकेको छ भने सुदूरपश्चिमका काङ्ग्रेस नेता रमेश लेखकका पिताको स्वर्गवास भएकोले उक्त प्रदेशमा केही दिनपछि मात्र ‘प्रशिक्षण’ दिइने बताइएको छ ।

प्रदेश एक, दुई र तीनमा पनि दशैँअगावै ‘प्रशिक्षण’ कार्यक्रम राखिने भएको छ । यसरी महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षित गरिएपछि तिनले काङ्ग्रेसको पक्षमा जनतालाई केही बताउने हैसियत राख्ने विश्वास यसका आयोजकहरूले गरेका छन् । तर, प्रशिक्षण कार्यक्रम, विषयवस्तु र प्रशिक्षणबारे पार्टीका अधिकांश नेताहरू नै बेखबर छन् । उपसभापति प्रमुख रहेको नीति तथा प्रशिक्षण विभागको उपप्रमुखमा शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई राखिएको छ । आरजुलाई उक्त जिम्मेवारी दिइने जानकारी विमलेन्द्र निधिले शेरबहादुर देउवाबाहेक अन्य कुनै पनि नेतालाई नगराएको बुझिएको छ ।

नीति तथा प्रशिक्षण विभागको उपप्रमुख भइसकेपछि आरजु नै हर्ताकर्ता बनेकी छिन् । दशकौँदेखि प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील भएर अनेकौँ यातनासमेत भोगेका नेताहरूलाई ‘काङ्ग्रेस भनेको के हो’ र ‘यसको भावी कार्यदिशा कस्तो हुनुपर्छ’ भन्नेलगायतका विषयमा दिइने प्रशिक्षण सामग्री तयार गर्ने र प्रशिक्षकहरूको नाम तय गर्ने काम आरजु राणाले गरेकी छिन् । आरजु राणा २०५१ सालमा शेरबहादुर देउवासँग विवाह गरेर आएपछि उनलाई ‘भाउज्यू’को रूपमा आमकाङ्ग्रेसजनले चिनेका हुन् ।

काङ्ग्रेस पार्टी र प्रजातन्त्रसँग कुनै साइनो र सरोकार नभएकी मानिने आरजुले संविधानसभाको सदस्यदेखि रोजेको क्षेत्रबाट सांसदको उम्मेदवार बन्ने अवसरसमेत प्राप्त गरिसकेकी छिन् । देउवाले आफ्नो उत्तराधिकारीका रूपमा आरजुलाई अघि बढाउन खोजेका छन्, र आगामी महाधिवेशनमा कुनै महत्वपूर्ण पदाधिकारीमा उम्मेदवार बन्ने योजनामा रहेकी आरजुले महाधिवेशन प्रतिनिधिहरूलाई प्रशिक्षण दिएर आफू उनीभन्दा जान्ने–सुन्ने भएको सन्देश दिन खोजेकी छिन् । यसरी प्रशिक्षक भूमिकामा देखिएपछि सहभागीहरूले नेताको रूपमा आफूलाई स्वीकार गर्ने विश्वासमा आरजु राणा रहेको बताइन्छ ।

काङ्ग्रेसको नीति निर्माण गर्ने र प्रशिक्षण सामग्री तर्जुमा गर्नेसम्मको निर्णायक भूमिकामा आरजुलाई देखेपछि काङ्ग्रेसभित्र त्यसको व्यापक आलोचना र टिप्पणी शुरु भएको छ । यतिबेला गाउँ, नगर र जिल्ला समितिमा रहेर काम गर्नेहरूलाई प्रशिक्षण आवश्यक थियो । महाधिवेशन प्रतिनिधिलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम गर्नुको मुख्य उद्देश्य पनि ‘आगामी महाधिवेशन’ नै भएको ठानिएको छ । तेह्रौँ महाधिवेशनका प्रतिनिधिमध्ये नै चौधौँमा पनि प्रतिनिधि बनेर आउन सक्ने हुनाले आरजुलाई अघि सारेर प्रशिक्षण कार्यक्रम बनाइएको स्पष्ट भएपछि काङ्ग्रेसको माथिल्लो तहका नेताहरूसमेत असन्तुष्ट बन्न पुगेका छन् ।