राप्रपा (संयुक्त)को निर्वाचन समिति गठन

राप्रपा (संयुक्त)को निर्वाचन समिति गठन


आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी राप्रपा (संयुक्त)ले नेता ध्रुवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

सङ्घीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि तयारी गर्नाका साथै विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तयार गर्ने जिम्मेवारी सो समितिलाई दिइएको छ ।

राप्रपा (संयुक्त)का अनुसार समितिमा ठाकुरप्रसाद शर्मा, श्याम तिमिल्सिना, भरतजङ्ग उप्रेती, बाबुराम बस्नेत, भरत पाठक, झलक प्याकुरेल र मीना शाहीलाई सदस्यको जिम्मेवारी दिइएको छ भने रामशरण पाठकलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

यसैगरी, पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन (संयुक्त) गठन गरिएको छ । केन्द्रीय कार्य सम्पादन समिति सदस्य ध्रुव रायमाझीको संयोजकत्वमा गठित १३ सदस्यीय समिति किसानको हक, हित, अधिकार, सेवा, सुविधा र सहुलियतमा केन्द्रीत रहनेछ ।

सङ्गठनको सदस्यमा इनु अधिकारी, तेज खरेल, बलबहादुर केसी, विष्णुप्रसाद पोखरेल, राजेश्वरराय यादव, राम आशिष पाण्डे, कृष्णविक्रम शाह, मातृका भुषाल, वसन्त अधिकारी, नवराज सिलवाल, नारायणबहादुर राउत, सुवास पण्डित रहेका छन् ।

यसैबीच, उक्त पार्टीले सघन रुपमा देशव्यापी प्रशिक्षण सञ्चालन शुरु गरेको छ । गत साउनमा काभ्रेको धुलिखेलमा सम्पन्न केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी प्रशिक्षक अहिले जिल्लास्तरीय प्रशिक्षणमा खटिएका छन् । भाद्र महिनाभित्र सबै जिल्लामा प्रशिक्षण गरिने योजनाका साथ प्रशिक्षण अभियान शुरु गरिएको पार्टीले जनाएको छ । प्रशिक्षण विभागका प्रमुख एवं पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो राजतिनीक अवस्था , सङ्गठन निर्माण वर्ष २०७६ को कार्य योजना, सङ्गठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक पक्ष, सक्रिय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइने छ । आगामी असोज महीनामा भने स्थानीय तहमा प्रशिक्षण दिइने जनाइएको छ ।