नेपाली खेलाडीलाई प्रशिक्षण गर्न पाउँदा थाई प्रशिक्षक खुशी

नेपाली खेलाडीलाई प्रशिक्षण गर्न पाउँदा थाई प्रशिक्षक खुशी


नेपाल बक्सिङ संघका सदस्य एवं अन्तर्राष्ट्रिय समन्वय संयोजक श्याम अवालेले १३औं सागका लागि थाइल्यान्डमा प्रशिक्षणमा रहेका बक्सिङ खेलाडीहरुको निरीक्षण तथा तयारीका बारेमा जानकारी लिएका छन् ।

अवालेले विगत दुई महिनादेखि प्रशिक्षणमा रहेका २० सदस्यीय नेपाली टोलीको निरीक्षण गर्नुका साथै थाइल्यान्ड बक्सिङ संघलाई धन्यवाद दिदै प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा थाइल्यान्डका प्रमुख बक्सिङ प्रशिक्षक सुवानद्वारा नेपाली खेलाडीको उत्कृष्ट भएको बताउँदै नेपाली खेलाडीलाई प्रशिक्षण गराउन पाउँदा खुशी व्यक्त गरेका थिए । यो प्रशिक्षणले दुई राष्ट्रका खेलाडीले एक आपसमा सिक्ने अवसर प्रदान गरेको सुवानले बताए ।

थाइल्यान्डमै रहेर प्रशिक्षण गराइरहेको नेपालका बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले दुई महिनाको थाइल्यान्डको तालिम निकै फलदायी भएको बताए । प्रशिक्षणका लागि सम्पूर्ण सुविधा भएकाले खेलाडीहरुले उच्च मनोबलका साथ प्रशिक्षण गरेको अनुभव सुनाए ।

खेलाडी भुपेन्द्र थापा मगरले तालिमले सम्पूर्ण खेलाडीको मनोबल उच्च बनाएको बताउँदै यही तुलनामा तालिम लिन सके सागमा अवश्य मेडल जित्ने विश्वास व्यक्त गरे ।

थाइल्यान्ड बक्सिङ संघका निर्देशक क्राइताच काइकातेले नेपाल र थाइल्यान्डबीच लामो सम्बन्ध रहेको स्मरण गराउँदै नेपाली बक्सिङको विकासमा सदैव सहयोग रहने प्रतिबद्धता जनाए ।